१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

रुबिका र दिनेश च्याम्पियन

बाग्मती प्रदेशकी रुबिका खड्का र त्रिभुवन आर्मी क्लबका दिनेश बुढामगर आइतबार सम्पन्न जिपी कोइराला स्मृति प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रथम भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ५५–६३ केजी तौल समूहको फाइनलमा दिनेश आफ्नै विभागका प्रमोद साहुलाई हराउँदै च्याम्पियन भएका हुन्। दिनेशले पाँच सय र प्रमोदले तीन सय अमेरिकी डलरसहित पदक प्राप्त गरे। आर्मीकै प्रेम मगर तेसो हुँदा पुरुषतर्फ एउटै विभागीय टोलीको वर्चस्व रह्यो। प्रेमले भने दुई सय अमेरिकी डलरमा चित्त बुझाए। सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल तामाङ र प्रमोदले आर्मीकै प्रेम मगरलाई हराउँदै उपाधि भिडन्त तय गरेका थिए।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रोफेसनल आइटिएफ प्रतियोगितामा पुरुष र महिलातर्फ १/१ तौलसमूहमा मात्र प्रतिस्पर्धा भएको थियो। महिला (४७–५५ केजी तौल समूह) मा रुबिकाले आर्मीकी हिमा खड्कालाई स्तब्ध बनाइन्। रुबिकाले पाँच सय र हिमाले तीन सय अमेरिकी डलर र पदक प्राप्त गरे। लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेस्रो स्थानमा रहँदा दुई सय अमेरिकी डलरमा चित्त बुझाइन्।

रुबिकाले सशस्त्र प्रहरी बलको एपिएफकी सन्चिता तामाङलाई हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन्। हिमाले भने सेमिफाइनलमा लुम्बिनीकी तेरियालाई हराएकी थिइन्। सबै खेलाडीले नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पनि प्राप्त गरेको फाउन्डेसन अन्तर्गत युवा तथा खेलकुद विभाग बाग्मती प्रदेशकी संयोजक तुलसी थापा मगरले जानकारी दिइन्। विजेतालाई खानेपानी मन्त्री उमाकान्त चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष अञ्जन धमला लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुई दिने प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल) गरी कुल ९ टोलीबाट कुल ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक टोलीबाट समान ३/३ जना महिला र पुरुष खेलाडी छनोट गरी प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा खेलाइएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघका अध्यक्ष धमलाले बताए। खानेपानी मन्त्री उमाकान्तले खेलकुद सबैभन्दा सम्मानित क्षेत्र रहेको उल्लेख गर्दै यसको विकासका लागि सरकारले विशेष ध्यान पुरयाउनुपर्ने बताए। ‘खेलकुद सबैभन्दा सम्मानित क्षेत्र हो। यस क्षेत्रको विकासका लागि सरकारले पनि ध्यान दिनुपर्छ र त्यसका लागि म पनि पहल गर्नेछु,’ मन्त्री उमाकान्तले भने। 

प्रकाशित: ७ चैत्र २०७८ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App