नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यसै साता थाइल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेल आफूहरूका लागि एएफसी एसियन कप छनोट २०२३ का लागि राम्रो तयारी हुने बताएका छन्।
नेपाली टोली सोमबार थाइल्यान्ड प्रस्थान गर्नेछ। जहाँ नेपालले चैत १० मा थाइल्यान्डको राष्ट्रिय टोली र चैत १३ गते थाइल्यान्डको चेनबुरी एफसीसँग खेल्नेछ। नेपाली टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निमित्त सदस्यसचिव कुलबहादुर थापालगायतले बिदाइ गरेका थिए।
‘हामीले एक साताको मात्र प्रशिक्षण गरेका हुन्छौं, तर पनि हाम्रो तयारी राम्रो छ,’ अल्मुताइरीले भने, ‘हामी एएफसी एसियन कप छनोटको तयारीमा छौं। त्यसैले थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको क्लबविरुद्धको मैत्रीपूर्ण खेल हाम्रा लागि आफ्नो कमीकमजोरी सुधार्ने अवसर बन्न सक्छ। थाइल्यान्ड फिफा वरीयतामा १ सय १२औं स्थानमा छ। नेपाल भने १ सय ६७औं स्थानमा छ।’
अल्मुताइरीले थाइल्यान्ड भ्रमणमा टोलीले नतिजाभन्दा पनि स्वाभाविक प्रदर्शनमा केन्द्रित रहने पनि बताए। ‘जित वा हार खेलको एउटा पक्ष हो,’ अल्मुताइरीले भने, ‘हामी आफ्नो स्वाभाविक खेलमा केन्द्रित हुन्छौं। हामी एएफसी एसियन कप छनोटको तयारीमा छौं, त्यसैले म मेरा खेलाडी घाइते नहुन् भन्ने चाहन्छु। मैले थाइल्यान्डको खेल हेरको छैन। हामीले कुवेत, जोर्डन र इन्डोनेसियासँग खेल्नु छ। त्यसैले मैले उनीहरूको खेल हेरेर टोलीको रणनीति बनाइरहेको छु। थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल भएकाले नतिजामा हामी केन्द्रित छैनौं।’
अल्मुताइरीले एएफसी कप छनोटका कारण सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबका खेलाडी यस पटक राष्ट्रिय टोलीमा नरहे पनि त्यसले आफूलाई धेरै चिन्तित नबनाएको बताए।
लिग विजेता मच्छिन्द्रले एएफसी कप छनोटको प्रारम्भिक चरणमा चैत २२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाको ब्लु स्टारविरुद्ध खेल्ने तालिका रहेको छ। त्यसैले यस पटक मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठसहित, स्ट्राइकर विमल घर्तीमगर, सुनील बल, रक्षक देवेन्द्र तामाङ र गोलकिपर विशाल श्रेष्ठलगायतका खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छैनन्।
‘म राष्ट्रिय टोलीमा मच्छिन्द्रका खेलाडी छन् वा छैनन् भन्नेमा केन्द्रित छैन,’ अल्मुताइरीले भने, टोली राम्रो बनेको छ। मसँग अहिले जुन खेलाडी उपलब्ध छन् ती पनि उत्कृष्ट छन्। त्यसैले म धेरै चिन्तत छैन। उनीहरू अहिले एफसी कप छनोटको तयारीमा छन्।
सम्भवतः एएफसी एसियन कप छनोटमा पनि उनीहरू हामीसँग नहुन सक्छन्।’ एएफसी एसियन कप छनोट २०२३ मा नेपालले समूह ‘ए’ मा जोर्डन, कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ। पाँच समूहका शीर्ष टोली तथा उत्कृष्ट समूह उपविजेता एसिया कपका लागि छनोट हुनेछन्।
प्रकाशित: ७ चैत्र २०७८ ०१:०८ सोमबार