५ वैशाख २०८१ बुधबार
खेल

अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

त्यसका लागि स्कुलका अध्यक्ष डा. विनोदप्रसाद यादव र अञ्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। माछापुच्छ्रेले अञ्जनलाई दुई वर्षका लागि एम्बासडरमा नियुक्त गरेको हो। कार्यक्रममा अखिल नेपाल फुटबल संघ(एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहलगायतको उपस्थिति थियो।

अञ्जनले माछापुच्छ्रेसँग जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै स्कुलसँग हातेमालो गरेर अगाडि बढ्ने बताए। उनले स्कुलले सञ्चालन गर्ने स्पोर्ट्स एकेडेमीलाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। अध्यक्ष यादवले अञ्जनलाई अनुबन्ध गर्न पाउँदा विद्यालयले गर्वको अनुभूति गरेको उल्लेख गर्दै स्कुलले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका सिंहले खेलाडीलाई अवसर दिएकोमा माछापुच्छ्रेलाई धन्यवाद दिए। अञ्जनको कप्तानीमा हालै सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीले सुदूर पश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको उपाधि जितेको थियो।

लिगमा भने उनको कप्तानीमा मनाङ पाँचौं स्थानमा रहेको थियो। चैत अन्तिम साताबाट सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अञ्जन झापा एफसीका मार्की खेलाडी पनि छन्। पहिलो संस्करणमा अञ्जन ललितपुर सिटी एफसीका कप्तान थिए।

प्रकाशित: ६ चैत्र २०७८ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App