२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘चेल्सीका अब्रामोभिच अयोग्य’

इङ्लिस प्रिमियर लिग बोर्डले चेल्सीका निर्देशक रोमन अब्रामोभिचलाई अयोग्य घोषित गरेको छ।

रुसले युक्रेनमाथि एकतर्फी आक्रमण गरेको भन्दै दुई दिनअघि मात्र बेलायत सरकारले अब्रामोभिचसहित सात रुसी अर्बपतिको सम्पत्ति रोक्का गरेको थियो। अब्रामोभिचको सम्पत्तिमा रोक्का भएसँगै चेल्सीको भविष्य अन्योलमा परेको छ।

प्रशिक्षक थोमस टचेलले पनि अब्रामोभिचविना क्लबको भविष्य परिकल्पना गर्न नसकिने प्रतिक्रिया दिएका छन्। अब्रामोभिचको सम्पत्ति रोक्का भएसँगै युरोपियन च्याम्पियन चेल्सी नयाँ खेलाडी भित्राउन, खेलाडीसँग सम्झौता नवीकरण गर्न र खेलको टिकट बेच्नबाट समेत वञ्चित भएको छ।

यद्यपि, चेल्सीले प्रशिक्षण र अवे खेलको भ्रमणका लागि भने सीमित रकम खर्च गर्न पाउनेछ। प्रिमियर लिगले बेलायत सरकारको निर्णयको सम्मानका लागि अब्रामोभिचमाथिको कारबाहीअघि बढाएको जनाएको छ। गत साता मात्र अब्रामोभिचले चेल्सीको हितका लागि भन्दै क्लब बेच्ने घोषणा गरेका थिए।

अब्रामोभिचको सो घोषणापछि क्लबको स्वामित्व खरिद गर्नका लागि धेरैले चासो देखाए पनि बेलायत सरकारको निर्णयपछि भने सो योजना अधुरै रह्यो। बेलायत सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिकको सम्बन्ध भएका कारण अब्रामोभिचको सम्पत्ति रोक्का गरिएको जनाएको छ। अब्रामोभिचले भने सो आरोपको खण्डन गर्दै आएका छन्।

युक्रेनमाथि सैन्य कारबाही अघि बढाएपछि विश्वभरका खेलकुद निकायले रुसमाथि प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएका थिए । फिफा र युइएफएले पनि रुसमाथि सबैखाले फुटबल गतिविधि प्रतिबन्ध लगाइसकेको छ। यससँगै रुसले मार्च २४ मा पोल्यान्डविरुद्ध खेल्न तय भएको कतार विश्वकप २०२२ को प्लेअफ सेमिफाइनल पनि रोकिएको थियो। बिहीबार मात्र फिफाले पोल्यान्डलाई बाई दिइसकेको छ।

रुसले भने विश्वकप छनोटबाट रोकेको भन्दै फिफा र युइएफएको निर्णयविरुद्ध अपिल गर्ने जनाएको छ। युएएफएले पनि सात रुसी क्लबको सदस्यता निलम्बन गरिसकेको छ। ‘रुसले युक्रेनमाथि एकतर्फी आक्रमण गरेको भन्दै दुई दिनअघि मात्र बेलायत सरकारले अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो।

प्रिमियर लिग अब्रामोभिचलाई चेल्सीको निर्देशकको रूपमा अयोग्य घोषित गर्दछ,’प्रिमियर लिगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यो निर्णयले चेल्सीलाई खेल्न वा प्रशिक्षण गर्नमा कुनै रोक भने लाग्ने छैन।’ अब्रामोभिचले सन् २००३ मा चेल्सीको स्वामित्व खरिद गरेका थिए। त्यसयता चेल्सीले १९ वटा प्रमुख प्रतियोगिताको उपाधि जितिसकेको छ। 

प्रकाशित: २९ फाल्गुन २०७८ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App