५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको आक्रामक ब्याटिङ

विश्व क्रिकेट लिग–२ को तयारी स्वरूप अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले जित यात्रालाई लगातार तेस्रो खेलसम्म कायम राखेको छ।

बिहीबार कोलम्बोस्थित पुलिसको मैदानमा सम्पन्न तेस्रो अभ्यास खेलमा नेपालले श्रीलंकन पुलिसलाई एक सय ४४ रनले पराजित ग¥यो। ३ सय ३२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ३६.५ ओभरमा १ सय ८७ रनमा अलआउट भएपछि नेपालले फराकिलो जित निकाल्यो।

पुलिसले एक रन जोड्दा नै ओपनर मोहम्मद सिल्भालाई गुमायो। थप ५ रन जोड्ने क्रममा अर्का ओपनर एम जोयसा पनि आउट भए। पुलिसले ७ रनको स्कोरमा राजाकरुणालाई तेस्रो विकेटको रूपमा गुमाउन पुग्यो।

पुलिसको भेभिटाले ५३ बलमा चार चौकासहित ३७ रन बनाए। ७९–७ को स्थितिमा रहेको पुलिसको इनिङ आठौं विकेटका लागि सिल्भा र एल मधुसन्काले ७९ रनको साझेदारी गर्दै उकास्ने संकेत गरे। सिल्भाले ६५ बलमा आठ चौकासहित ६४ रन र मधुसन्काले ४४ बलमा ६ चौका र एक छक्कासहित अविजित ५० रन जोडे। पुलिसलाई कम योगफलमा सीमित पार्ने क्रममा नेपालका करण केसीले ६ ओभरमा एक मेडनसहित २० रन खर्चेदै तीन विकेट लिए। कमलसिंह ऐरी, सागर ढकाल र कप्तान सन्दीप लामिछानेको नाममा समान दुई विकेट रह्यो।

यसअघिका दुई अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई क्रमशः १ सय ११ र ८९ रनले पराजित गरेको थियो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ३१ रनको विशाल योगफल तयार पारेको थियो।

यस क्रममा नेपालका चार खेलाडीले अर्धसतक पूरा गरे। रोहितकुमार पौडेलले सर्वाधिक ७२ रन जोड्दा ओपनर कुशल भुर्तेलले ५७ रन र आसिफ शेखले ५२ रन बनाए। करण ५३ रनमा र कमल ४५ रनमा नटआउट रहे। कुशल र आसिफले पहिलो विकेटका लागि १ सय ७ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए। कुशलले ४८ बलमा आठ चौका पहार गरे। १ सय ४२ रनमा नेपालले आसिफलाई दोस्रो विकेटको रूपमा गुमायो। 

आसिफले ५० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। तेस्रो विकेटका लागि रोहित र आरिफले ६२ रनको साझेदारी गरे। रोहितले ७७ बलमा २/२ चौका र छक्का प्रहार गरे। आरिफले ३७ बलमा दुई चौकासहित २६ रन जोडे। २२९–७ को स्थितिमा आठाैँ विकेटका लागि करण र कमलले १ सय २ रनको साझेदारी गर्दा नेपालले विशाल योगफल तयार पारेको थियो। करणले ३६ बलमा ६ चौका प्रहार गर्दा कमलले ३६ बलमा चार चौका र दुई छक्का प्रहार गरे। पुलिसका सम्पाथ र प्रियदर्शनाले समान दुई तथा जयथालिका, राजाकरुणा, डी सिल्भा र अरानदाराले समान एक विकेट लिए।

प्रकाशित: २७ फाल्गुन २०७८ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App