१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

सत्यवती एकेडेमीलाई एलपीएलको उपाधि

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिता छैटौँ संस्करणको उपाधि आज सत्यवती एकेडेमी अत्तरियाले जितेको छ। विद्याभूषण पब्लिक स्कुल गेटालाई १६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपटक जितेको हो।

उपाधिसहित सत्यवती एकेडेमीले एक लाख ५० हजार र उपविजेता विद्याभूषणले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो। धनगढीको प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको लक्ष्य पछ्याउने क्रममा विद्याभूषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा विद्याभूषणका नुरेन विष्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। सत्यवती एकेडेमीको बलिङमा युवराज खत्री र नीरज भट्टले समान तीन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा चार विकेट क्षतिमा २५० रन बनाएको थियो।

सत्यवतीको ब्याटिङमा अन्डर–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए। उनले ४५ बलमा तीन चौका र ११ छक्का प्रहार गरे। यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र तीन छक्का प्रहार गरे। आदिल अन्सारीले १२ बलमा दुई चौका र तीन छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले पाँच बलमा तीन छक्का मद्दतले १९ रन योगदान दिए। सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिङ साझेदारी गरे, जुन प्रतियोगिताकै उच्च साझेदारी हो। चौथो विकेटका लागि आदिल अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे।

विद्याभूषणका बलर प्रदीप चन्दले तीन विकेट तथा वीरेन्द्र नाथले एक विकेट लिए। महङ्गो सावित भएका टिम कप्तान शेरले चार ओभर बलिङ गर्दा ७९ रन खर्चेर विकेटविहीन रहे। प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका सत्यवती एकेडेमीका सन्तोष कार्कीले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याट्सम्यान विद्याभूषणका वीरेन्द्र नाथ तथा उत्कृष्ट बलर हिमालयन ह्वाइटहाउसका दीपक बोहरा घोषित भए। जसले जनही १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी चुनिएका सत्यवती एकेडेमीका युवराज खत्रीले १० हजार रुपैयाँ प्राप्त गरे। फागुन २ गतेदेखि सुरु भएको उक्त क्रिकेट प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।

प्रकाशित: १४ फाल्गुन २०७८ १६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App