१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

धनगढी मेयर एलपिएलः शारदा सरस्वती र हिमालयन ह्वाइट हाउस विजयी

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ अन्तरगत सोमबार भएका दुई खेलमा शारदा सरस्वती दोधारा र हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौं विजयी भएका छन्। सोमबारको पहिलो खेलमा एभरेष्ट एकेडेमी अत्तरियालाई ३३ रनले पराजित गर्दै कञ्चनपुरको शारदा सरस्वती दोधारा पहिलो जित निकाल्न सफल भयो।

टस हारेर व्याटिङको निम्तो पाएको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो। जवाफी व्याटिङ थालेको एभरेष्ट एकेडेमीले १९ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय रन मात्रै बनाउन सक्यो। एभरेष्टका लागि योगेश भाटले २७ र सन्दीप विष्टले १९ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानको प्रदर्शन राम्रो हुन सकेन।

बलिङतर्फ शारदाका अर्जुनसिंह साउँदले ४ ओभर बलिङ गर्दै १४ रन दिएर महत्वपूर्ण ४ विकेट लिए। उसका मिलन बोहराले २, विकास सुनार, हेमन्त धामी र राजेश साउँदले समान १/१ विकेट लिए। यसअघि शारदाका लागि हेमन्त धामीले २५ बलमा २ छक्का र ३ चौकासहित अविजित ३८ रनको पारी खेल्दा अनुराग सिंह २२ बलमा २३ रन बनाएर आउट भए।

गणेश बिटालु र मिलन बोहराले टिमका लागि समान १४ र सुनिल चन्दले १३ रन बनाए।  बलिङतर्फ एभरेष्टका कृश ऐरले ४ ओभरमा ३ महत्वपूर्ण विकेट लिँदै ११ रन दिए। आकाश चन्द र धर्म जोशीले समान २/२ विकेट लिँदा गोविन्द विष्ट र मुकेश ओझा १/१ विकेट लिन सफल भए। खेलको प्लेयर अफ दी म्याच हेमन्त धामी घोषित भए।

सर्वाधिक छक्काको अवार्ड हेमन्तले नै पाउँदा गेमचेन्जर अवार्ड अर्जुनसिंह साउँदले पाए। सोमबार नै भएको दोस्रो खेलमा हिमालयन ह्वाइट हाउस स्कुलले लगातार तेस्रो जित दर्ता गरेको छ। सैनिक आवासीय महाविद्यालय तेघरीलाई ९२ रनले पराजित गर्दै हिमालयनले शानदार जित दर्ता गरेको हो। टस हारेर व्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउस स्कुलले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रनको विशाल योगफल तयार पार्‍यो।

दुई सय ७ रनको विजयी लक्षसहित मैदान उत्रिएको सैनिकले १५ दशमलव ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय १४ रन मात्रै बनाउन सक्यो। सैनिकका लागि सुरुवाती व्याट्सम्यान खडक बोहरा र प्रज्वल थापाले ३ दशमलव ४ ओभरमै ३८ रनको साझेदारी गर्दै राम्रो सुरुवाती दिलाएका थिए। त्यसपछि सम्हालिन नसकेको सैनिकका व्याट्सम्यानको प्रदर्शनले लगातार तेस्रो हार व्यहोर्नुपर्‍यो। उसका लागि प्रज्वल थापाले ३६, खडक बोहराले २२, कमलेश विष्टले १३ र सागर चन्दले ११ रन मात्रै बनाउन सके।

बलिङतर्फ हिमालयनका दीपक बोहरा (जुनियर)ले ४ ओभर बलिङ गर्दै १ मेडनसहित २० रन दिएर महत्वपूर्ण ५ विकेट लिए। अनुप कुँवरले ४ र सन्दीप शाहीले १ विकेट लिए। यसअघि हिमालयनका लागि कप्तान नारायण जोशीले ११ छक्का र ४ चौकाको मद्दतले ३२ बलमै ९२ रनको उत्कृष्ट पारी खेले। उनलाई इनिङको अन्तिम ओभरमा कमलेस विष्टले बोल्ड आउट गरेका थिए।

हिमालयनका वसन्तसिंह कार्कीले २९ बलमा ४७, लक्की कडायत र एमएस थापाले समान १६/१६, दीपक बोहराले १२ रन बनाएर आउट हुँदा रजत तिमिल्सिना १० रनमा नट आउट रहे।  बलिङतर्फ सैनिकका गौतम केसीले २, कमलेस विष्ट, शैलेश बम, सागर चन्द, खडक बोहरा र आकाश चन्दले समान १/१ विकेट लिए।

खेलको प्लेयर आफ दी म्याच नारायण जोशी घोषित हुँदा सर्वाधिक छक्काको अवार्ड पनि उनैले पाए। गेम चेन्जर अवार्ड दीपक बोहरा जुनियरले पाए। प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेलमा बिहान साढे ९ बजे लिटल फ्लावर र गुरुकुल आमनेसामने हुनेछन्, भने दोस्रो खेलमा दिउँसो साढे १ बजे विद्या भूषण र स्टेपिङ स्टोन भिड्नेछन्।  

प्रकाशित: ९ फाल्गुन २०७८ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App