१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय म्याराथनमा अफ्रिकन धावकको एकलौटी

भुतपूर्व खेलाडी मञ्चले पोखरा म्याराथन आयोजना गर्न लागेको डेढ दशकपछि अन्तर्राष्ट्रिय धावकको सहभागिता हुन शुरु भएको थियो। दुईवर्ष अघि आयोजित १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासी च्याम्पियन बनेपछि पोखरा म्याराथनको उपाधि समुद्रपारी पुग्यो।  

त्यसको दुईवर्षपछि पोखरा म्याराथनको उपाधि फेरी विदेशिको पोल्टामा पुगेको छ। यसपटक भने केन्याली धावकको नाममा लेखियो। नाममा मात्रै नभई पोखरा म्याराथनको नयाँ कीर्तिमानी समय पनि उनै विदेशीले बनाए। उपाधि जितेका स्टेफन कोसगेईले तेस्रो भएका नेपाली धावकलाई १४ मिनेटले पछाडि पारिदिए। नेपालकै म्याराथनमा पहिलो पटक सहभागिता जनाएको केन्याली दुईजना धावकले पहिलो र दोस्रो पुरस्कार थापे। उनीहरुको सहभागिताले म्याराथनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान आयोजकलाई कोशेढुगा सावित भएको छ।  

अन्तर्राष्ट्रिय म्याराथनलाई नियाल्दा अफ्रिकन देशका धावकहरुले धेरैतिर बलियो पकड बनाएका छन्। विश्वमा लण्डन म्याराथन बढी चर्चामा छ। लण्डन म्याराथनमा अफ्रिकन देशका खेलाडीले नै प्रभुत्व जमाएका छन्। दिल्लीको हाफ म्याराथनमा पनि अफ्रिकन खेलाडीले अधिपत्य जमाउँदै आएका छन्।

पोखरामा पहिलो सहभागितामै केन्याली धावकले उपाधि लिएर फर्किनु अफ्रिकन खेलाडीको अन्तर्राष्ट्रिय म्याराथनमा बर्चस्व प्रष्टै छ। नेपालमा अहिलेसम्म सहभागिता भएका थिएनन्। सायद केन्याली धावकको सहभागिता बाक्लिदै जाने विश्वास आयोजक भुतपूर्व खेलाडी मञ्च नेपालले लिएको छ।  

लण्डन म्याराथन शुरु भएको ४० वर्ष भएको छ। यो ४० वर्षको इतिहासमा सबैभन्दा धेरै लण्डन म्याराथन दौडको उपाधि अफ्रिकी मुलुक केन्याली धावकको नाममा छ। सन १९८१ मा देखि शुरु भएको दौड अमेरिकन धावक डिक ब्राडस्ले र नर्वेजियन धावक इन्ज सिमोन्सन बराबरीमा टुंगिएको थियो। त्यतिबेला उनीहरुको दौडको समय २ घण्टा ११ मिनेट ४८ सेकेण्ड थियो जुन त्यतिबेलाको कोर्ष रेकर्डको रुपमा रहेको थियो।

त्यसपछिको चारवर्ष बेलायती धावकको नाममा उपाधि लेखिन पुग्यो। १९८५ मा बेलायती धावक स्टेभ जोन्सले २ घण्टा ८ मिनेट १६ सेकेण्डमा पार गर्दै कोर्ष रेकर्ड आफनो नाममा लेखाउन सफल भए। १९८६ र १९८७ को म्याराथनको उपाधि जापानीज धावकले जित्न सफल भए। सन २००४ पछिको लण्डन म्याराथनको उपाधि केन्या र इथोपियन धावकले आफनो बर्चस्व जमाउँदै आएका छन्। १५ पटक केन्याली धावकको नाममा म्याराथनको उपाधि लेखिएको छ। इथोपियन धावक तीन पटक म्याराथन जितेको तथ्यांक छ।

पोर्चुगलका धावकले तीनपटक म्याराथन जित्दा मेक्सिकन धावकले डिओनिसियो सेरोनले लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गरेका थिए। केन्याका धावक इलोड किप्चोगेले चारपटक उपाधि जितेका छन्।केन्याकै मार्टिन लेलले भने तीन पटक जित्न सफल भएको तथ्यांक छ। कोभिड संक्रमण शुरु हुनु भन्दा अघि मात्रै भएको प्रतिस्पर्धामा इथोपियाका धावक सुरा किताता तोलाले जितेका थिए।  

दिल्लीको हाफ म्याराथनको सन २००५ देखि शुरु भएको हो। तथ्यांक नियाल्ने हो भने केन्याली धावक र इथोपियन धावकको बर्चस्व छ। १६ औं संस्करणसम्म आईपुग्दा इथोपियन धावकले १० पटक उपाधि जितेका छन्। केन्याली धावकले ५ पटक आफनो नाममा उपाधि लेखिसकेका छन्। इथोपियन धावक अम्देवर्क वालेलेनले उपाधि जित्दा उत्कृष्ट टाईमिङ निकालेका थिए। उनले उपाधि जित्दा ५८ मिनेट ५३ सेकेण्डमा पुरा गरेका थिए। जुन दिल्ली हाफ म्याराथनको सबैभन्दा कम समय हो।  

म्याराथनको यो तथ्यांकलाई केलाउँदा अफ्रिकन देशका धावकहरुले विश्व म्याराथनमा आफनो एकलौटी गर्ने सम्भावनालाई अझ घनिभूत बनाएको छ। दिल्ली हाफ म्याराथन र लण्डन म्याराथनसँगै नेपालको म्याराथनमा पनि उपस्थिति हुन शुरु भईसकेको छ। नेपालमा पोखरा, नेपालगन्ज, काठमाडौं र नेपाली सेनाको गरी ४ म्याराथन आयोजना हुने गरेका छन्। चार म्याराथनमध्ये पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता शुरु भईसकेको छ। आगामी दिनमा अन्य म्याराथनमा पनि सहभागिताको अपेक्षा गरिएको छ।  

अन्तराष्ट्रिय धावकको सहभागिताले नेपाली धावकलाई कडा चुनौति हुने प्रष्टिएको छ। विभागीय बर्चस्वलाई अन्तर्राष्ट्रिय धावकले तोडिदिएका छन्। म्याराथनलाई अन्तर्राष्ट्रिय एरिनामा पु¥याउन विदेशी धावकको सहभागिता अनिवार्य हुन्छ। अन्तर्राष्ट्रिय धावकको सहभागिताले पोखरालाई खेलकुदको शहर एवं स्पोर्टस टुरिज्म सिटी बनाउने अभियानमा थप बल पुगेको विश्वास नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष हरिप्रसाद पराजुलीले लिएका छन्। उनी भन्छन, ‘आगामी संस्करणमा अझ बढी विदेशी धावकको सहभागिता बढ्ने छ । यसले पोखरालाई अन्तर्राष्ट्रिय म्याराथन बजारमा छुट्टै छाप छोड्ने छ ।’

प्रकाशित: ८ फाल्गुन २०७८ ०७:५३ आइतबार

पोखरा म्याराथन अन्तर्राष्ट्रिय म्याराथन