१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

केन्याली धावकलाई पोखरा म्याराथनको उपाधि

महिला हाफ म्याराथनको उपाधि पुलिसकी प्रसाँईद्वारा रक्षा

महिला हाफ तथा खुल्ला पोखरा म्याराथनका विजेता धावकहरु उपाधिसहित। तस्बिर नागरिक

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्। महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले रक्षा गर्न सफल भईन्।  

नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफ्नो बनाएका हुन्। उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन्। १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए।  

केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाखनगद राशी सहितको पुरस्कार प्राप्त गरे। पोखरा म्याराथनमा उनको किर्तिमानी समय हो। यसअघि नेपाल आर्मीका धावक अर्जुनकुमार बस्नेतले छैटौं पोखरा म्याराथनमा २ घण्टा २५ मिनेट ०१ सेकेण्डमा पुरा गर्दै कीर्तिमानी बनाएका थिए। जुन कीर्तिमानलाई केन्याली धावकले एकदशकपछि तोडेका हुन्।  

पहिलो पटक नेपालमा म्याराथनको लागि पोखरा आएका कोसगेईले उपाधि जित्दा खुशी व्यक्त गरे। उनले म्याराथन दौडिदा सुरक्षाकर्मीको सहयोग निकै राम्रो रहेको उल्लेख गरे। ‘प्रदुुषणरहित, स्वच्छ बातावरण र हावा चलेन्,’ उनले अनुुभव साट्दै भने, ‘बाटोको अवस्थामा राम्रो देखियो। सबैको सहयोग रह्यो। आयोजकप्रति धन्यवाद छ।’  

खुल्ला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो। सिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पुरा गर्र्दै दुईलाख नगर राशीको पुरस्कार प्राप्त गरे। त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौथो बने। पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए।  

महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचालिन्। राजुपुराले गतवर्षको समयलाई सुधार्दै १ घण्टा २१ मिनेट २६६ सेकेण्डमा पुरा गर्दै उपाचि जित्न सफल भईन्। गतवर्ष उनले उपाधि जित्दा १ घण्टा २७ मिनेट ०१ सेकेण्डको समय लगाएकी थिईन्। शसस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन्। जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह केरसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै चौथो स्थानमा रहिन्।  

खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ५० हजार रुपैयाँ प्राप्त गरे। महिला तर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरे। उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका थिए। पुरस्कार वितरण गर्दै मुख्यमन्त्री पोखरेलले पोखरालाई खेलकुदको हब बनाउन वर्षेनी आयोजना गरिने गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे।  

खुल्ला म्याराथनमा १६२ जना पुरुष धावकहरुले प्रतिस्पर्धा गरेका थिए। म्याराथनमा केन्याका २ जना धावक पहिलोपटक पोखरा आएका थिए। केन्याली धावकसहित बंगलादेश, भारत, बेलायत, अमेरिकन धावकले प्रतिस्पर्धा गरेका थिए। १७ जिल्लाका धावकहरुले प्रतिस्पर्धा गरेका थिए। दौड पोखरा रंगशालाबाट शुरु भई पोखराको विभिन्न ठाँउ परिक्रमा गरेर पोखरा रंगशालामै आई टुंगिएको थियो।  

महिला हाफ म्याराथनमा ३९ धाविकाले प्रतिस्पर्धा गरेका थिए। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत अन्य ६ वटा इभेन्टहरु आयोजना गरिदैं आएको छ। चैत्र १२ गते शनिवार महिला÷पुरुष १० किमि दौड, विद्यालयस्तरीय छात्र÷छात्रा ५ किमि दौड, महिला÷पुरुष ह्विलचियर तथा दृष्टिविहीन दौड आयोजना गर्ने मञ्चले तय गरेको छ।  

पोखरालाई खेलकुद शहर एवं खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित २०५८ सालदेखि मञ्चले पोखरा म्याराथन आयोजना गर्दै आएको छ। शुरुवातको समयमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको थियो। त्यसपछि राजनीतिक अस्थिरतासँगै वाणिज्य बंैंकले मुख्य प्रायोजनबाट पछि हट्यो। २०६५ सालमा १० किलोमिटर दौड मात्रै आयोजना गरिएको थियो। त्यसपछिको संस्करण एकैपटक ०७२ सालमा आएर आयोजना गरिएको थियो। २०६४ पछि २०७२ सम्मको अवधिमा मुख्य प्रायोजनकै अभाव र आर्थिक सहयोग जुटाउन नसक्दा मञ्चले म्याराथनलाई थाँती राख्यो। पोखराको प्रतिष्ठासँग जोडिएको म्याराथनलाई सुजल डेरीको उत्पादन सफल दूधले प्रायोजन गरेपछि फेरी निरन्तरत पाएको हो। सफल दूधले निरन्तर मुख्य प्रायोजन गर्दै आएको छ।  

प्रकाशित: ७ फाल्गुन २०७८ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App