१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

धनगढी मेयर एलपिएल: एभरेष्ट र सत्यवतीको लगातार दोस्रो जित

धनगढीमा जारी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुईवटा खेलमा अत्तरियाको एभरेष्ट एकेडेमी र सत्यवती एकेडेमी विजयी भएका छन्। प्रतियोगितामा दुवै टिमको यो लगातार दोस्रो जित हो।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न तेस्रो दिनको पहिलो खेलमा एभरेष्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गर्‍यो। सैनिकले दिएको १०४ रनको लक्ष्य एभरेष्ट एकेडेमीले १६ ओभरमा ४ विकेट गुमाएर भेटायो। एभरेष्टका लागि रितिक थापाले ३ चौका र १ छक्का प्रहार गर्दै ३६ बलमा सर्वाधिक ४२ रन बनाए। 

यस्तै कृश ऐरले अविजित २९ रन बनाए। रितिक र कृशले पाँचौँ विकेटको लागि अविजित ६० रनको साझेदारी गरेका थिए। सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए। यसअघि टस जितेर व्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो।

उसका लागि गौतम केसीले सर्वाधिक ३१ तथा सागर चन्दले २१ रन बनाए। एभरेष्ट एकेडेमीका बलर गोविन्द विष्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दीपक रोकायाले समान दुई विकेट र कृश ऐरले एक विकेट लिए। खेलको प्लेयर अफ द म्याच गोविन्द विष्ट भए। दोस्रो खेलमा सत्यवती एकेडेमीले विद्याभूषण पब्लिक स्कुललाई ४ विकेटले पराजित गर्‍यो। विद्याभूषणले दिएको १२२  रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेटायो।

सत्यवतीको लागि यु–१९ राष्ट्रिय क्रिकेटरसमेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए। यस्तै सुजन गौतमले अविजित ३२ रन बनाए। आदील अन्सारीले १८ रनको योगदान दिए। विद्याभूषणको बलिङमा कप्तान शेर मल्लले दुई तथा वीरेन्द्र नाथ र अर्जुन साउँदले समान एक विकेट लिए। यसअघि टस जितेर व्याटिङ गरेको विद्याभूषणले १९ दशमलव १ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन बनाएको थियो।

उसका लागि ओपनर प्रदीप चन्दले सर्वाधिक ३४, वीरेन्द्र नाथले २४ तथा नरेन्द्र साउँदले १६ रन बनाए। अर्जुन साउँदले १२ तथा शेर मल्लले ९ रन मात्र बनाउन सके। सत्यवती एकेडेमीका बलर सन्दीप खत्रीले सर्वाधिक तीन विकेट लिँदा आदील अन्सारी, नीरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की भए। प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुनेछन्। प्रतियोगिताको विजेता टिमले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: ४ फाल्गुन २०७८ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App