२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आवश्यकताले नभई दयाका आधारमा बजेट विनियोजन भएको छ: मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसङ्ख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून भएको भनी गुनासो गरेका छन्।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा उनले खेलकुदलाई अनउत्पादक क्षेत्र भन्ने राज्यको बुझाई रहेको विषय बजेट विनियोजनबाटै छर्लङ रहेको आफूले अनुभव गरेको बताए। मन्त्री गहतराजले भने, .राष्ट्रिय बजेटको १.१६ प्रतिशत मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको छ, यो बजेट आवश्यकताले नभई दया गरेर विनियोजन भएजस्तो भान हुन्छ, मुलुकको जनसङ्ख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि सम्पूर्ण कार्यक्रम यसबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ।.

विनियोजित बजेटबाट खेलाडीको मनोबल उच्च राख्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन निकै चुनौती रहेको उल्लेख गर्दै उनले युवालाई सशक्तीकरणका लागि आधार तयार गर्न यो बजेटले धान्छ कि धान्दैन भनी आश्चर्य प्रकट गरे।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले राष्ट्रिय खेलकुद विकास नियमावलीमा सरोकारवालाको रायसुझाव समावेश गरी मस्यौदालाई अन्तिमरुप दिने कार्य गरिरहेको जानकारी दिए। मन्त्रालय र मातहतका निकायबाट भइरहेका कार्यप्रगतिको विवरण प्रस्तुत गर्दै उनले राष्ट्रिय प्रतियोगितामा समावेश हुने ३७ खेल विधाका लागि मुलुकभरबाट २१ हजार खेलाडीका लागि आधारभूत खेलकुद प्रशिक्षण प्रदान भइरहेको छ भने। 

एशियन तथा ओलम्पिक खेलकुदमा समावेश हुने २६  खेलका ७५० खेलाडीको लागि नियमित प्रशिक्षण चलिरहेको पनि सो अवसरमा जानकारी दिइयो। यसअघि बैठकमा सदस्यले प्राप्त बजेटकै पुँजीगत खर्च अन्त्यन्त न्यून रहेको चिन्ताको विषय भएको तथा खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकतामा राखेर गुणात्मक नतिजा हासिल गर्नेतर्फ मन्त्रालयको जोडबल आवश्यक रहेको सुझाव दिए। रासस

प्रकाशित: ३ फाल्गुन २०७८ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App