१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

२३ वर्षे ईसान १५ करोड भारुमा अनुबन्धित

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा भारतीय खेलाडी ईसान किसनलाई मुम्बई इन्डियन्सले शनिबार कीर्तिमानी मूल्यमा अनुबन्धित गर्दा श्रेयस एयर पनि मोटो रकममा कोलकाता नाइट राइडर्समा भित्रिएका छन्।

शनिबार सम्पन्न पहिलो दिनको मेगा अक्सनमा पाँच पटकको आइपिएल च्याम्पियन मुम्बईले २३ वर्षे किसनलाई १५.२५ करोड भारुमा अनुबन्धित गरेको हो। किसनलाई आफ्नो मुम्बईकी मालिक निता अम्बानी र गुजरातबीच १० मिनेटसम्म होड चलेको थियो। किसन आइपिएलको इतिहासमा सबैभन्दा महँगो दोस्रो भारतीय खेलाडी बने।

यसअघि युवराज सिंहलाई दिल्ली क्यापिटल्सले १६ करोड भारु खर्चिएको थियो। बायाँ हाते ब्याट्सम्यान पछिल्ला पुस्ताका निकै लोकप्रिय खेलाडी मानिन्छन्। वेस्ट इन्डिजसँग तीन एकदिवसीय शृंखला अन्तर्गत तेस्रो एक दिवसीयमा ८० रनको व्यक्तिगत स्कोर गर्दै टोलीलाई शृंखला दिलाएका भारतीय टोलीका सदस्य श्रेयस १२.२५ करोड भारुमा अनुबन्धित भएका हुन्।

यस्तै कोलकाताले अस्ट्रेलियन प्याट कमिन्सलाई ७.२५ करोड भारुमा अनुबन्धन गर्दा कोलकाताका प्रमुख कार्यकारी भेन्की माइसोरले दुई खेलाडीलाई अनुबन्धन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। ‘पहिलो दिनको अक्सनमा दुई राम्रा खेलाडीलाई अनुबन्धन गर्न पाउँदा खुसी लागेको छ। प्याट कमिन्सलाई करिब एक मिलियन अमेरिकी डलरमा किन्न पाउँदा खुसी छौं। उनको मूल्य अझै बढी हुने अपेक्षा थियौं, तर भएन,’ माइसोले भने, ‘श्रेयस शीर्ष वरीयताका गुणस्तरीय खेलाडी हुन्। हामीले धेरै सोचविचार गरेर उनलाई अनुबन्धित गरेका छौं।’

यसअघि कमिन्स सन् २०१९ मा कीर्तिमानी २.१७ मिलियन अमेरिकी डलरमा अनुबन्धित भएका थिए। उनलाई अघिल्लो सिजनमा कोलकाताले फुकुवा गरेको थियो। श्रेयस र कमिन्सलाई कोलकाताका भावी कप्तानका रूपमा हेरिएको छ। कोलकाताले इङ्ल्यान्डका इयान मोर्गानलाई अहिलेसम्म अनुबन्धित नगरेकाले यी दुईलाई कप्तानका रूपमा हेरिएको हो।

पहिलो दिनको अक्सनअन्र्तगत भारतीय तीव्र गतिका बलर दीपक चाहरलाई चेन्नई सुपर किंग्सले धनको वर्षा गर्‍यो। चाहरलाई टोलीमा फर्काउन चेन्नईले १४ करोड भारु खर्चियो। चाहरलाई सन् २०१८ को अक्सनमा चेन्नईले ८० लाख भारुमा किनेको थियो।

अहिले उनी ८० लाखबाट १४ करोड भारुमा चेन्नईमा फर्किएका हुन्। भारतीय टोलीका ओपनर शिखर धवनलाई पञ्जाव किंग्सले ८.२५ करोड भारुमा अनुबन्धन गरेसँगै पहिलो दिनको अक्सन सुरुआत भएको थियो। धवनसँगै पञ्जाबले दक्षिण अफ्रिकाका कागिसो रबाडालाई ९.२५ करोड भारुमा टोलीमा भित्रायो।

यो नै मार्की खेलाडीका लागि खर्चिएको दोस्रो ठूलो रकम हो। यस्तै न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट ८ करोड भारुमा राजस्थान रोयल्समा अनुबन्धन भए। दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई रोयल च्यालेन्जर्स बैंग्लोरले लिँदा दिल्ली क्यापिटल्सले ७ करोड भारुमा अनुबन्धन गर्‍यो।

दुई दिनसम्म चल्ने आइपिएल अक्सनमा विदेशीसहित ६ सय खेलाडी समावेश छन्। १५औं संस्करणको आइपिएलमा दुई नयाँसहित १० टोलीले सहभागिता जनाउँदै छन्। गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सले यसै सिजनबाट आइपिएलमा प्रतिनिधित्व गर्नेछन्।

प्रकाशित: १ फाल्गुन २०७८ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App