१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

फ्रेन्ड्सको पहिलो जित

फ्रेन्ड्स क्लबले राजधानीमा जारी सहिद स्माक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई ५–२ गोलअन्तरले हराउँदै सिजनको पहिलो जित निकाल्दा दिनको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग संघर्षपूर्ण १–१ को बराबरी खेलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले ब्रिगेड ब्वाइजलाई ५–२ गोलअन्तरले पराजित गर्दै जारी सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको हो। हारबाट रेलिगेसन क्षेत्र लगभग पक्का जस्तो भएको फ्रेन्ड्सले सुधारिएको खेल देखाउँदै जारी लिगमा पहिलो पटक स्पष्ट तीन अंक जोडेको हो।

फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई/दुई गोल गर्दा श्यामबाबु केप्छकीको नाममा एक गोल रह्यो। फ्रेन्ड्सविरुद्ध अन्तर घटाउँदा ब्रिगेडका ड्याडी जुनियर बाम्बा र अनिल गुरुङले एक/एक गोल फर्काए।

रेलिगेसन संकट टार्नका लागि गर या मरको अवस्थामा स्पष्ट अंकका लागि मैदान उत्रिएका दुवै टोलीले सुरुआतबाट नै आक्रामक खेलेका थिए। सोही क्रममा १४औं मिनेटमा सुशीलको फ्रि किकबाट फ्रेन्ड्सले सुरुआती अग्रता लिएको थियो। ब्रिगेडका ड्याडी जुनियर बाम्बाले नाथनियल ग्रासियालाई फाउल गरेपछि फ्रेन्ड्सले फ्रि–किकको अवसर पाएको थियो।

जसमा फ्रेन्ड्सका लागि डेब्यु खेलाडी सुशीलले उत्कृष्ट गोल गरेका थिए। २५औं मिनेटमा ड्याडीले पनि फ्रि–किकमार्फत गोल गर्दै ब्रिगेडलाई १–१ गोलको बराबरीमा ल्याउँदा खेल थप रोमाञ्चक बनेको थियो। बराबरीको दुई मिनेटपछि नै फ्रेन्ड्सका श्यामबाबुले गोल गर्दै टोलीको अग्रता २–१ मा पुर्‍याए।

काउन्टर बलमा विकास थापाले ब्रिगेडका गोलकिपर गुरप्रीत सिंहलाई बिट गर्दै उपलब्ध गराएको बलमा श्यामले सहज गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समय जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३–१ को अग्रता दिलाएपछि बाँकी पहिलो हाफमा थप गोल हुन सकेन र फ्रेन्ड्सले पहिलो हाफमा अग्रता लियो।  

दोस्रो हाफमा खेलमा फर्किन प्रयास गरेको बिबिसीविरुद्ध ७६औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–१ को अग्रता दिलाउँदा ७८औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल थप्दा फ्रेन्ड्स ५–१ को बलियो अवस्थामा बनायो। ८६औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गर्दै अन्तर घटाए पनि फ्रेन्ड्स ५–२ ले विजयी भयो।

फ्रेन्ड्सका प्रिजेनले रुडीलाई पेनाल्टी बक्सभित्र फाउल गरेपछि ब्रिगेडले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई अनिलले सहजै गोलमा परिणत गरेका थिए। यससँगै अनिलले आठ वर्षपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो गोल गरेका छन्। अनिलले पछिल्लो पटक २०७० सालमा मनाङबाट खेल्दा थ्री स्टारविरुद्ध गोल गरेका थिए।

जितसँगै फ्रेन्ड्स १० खेलमा ६ अंक जोडेर रेलिगेसन क्षेत्रमाथि उक्लिएको छ। तालिकाको पुछारमा रहेको फ्रेन्ड्सले स्पष्ट तीन अंक जोड्दा दुई स्थान छलाङ मार्दै १२औं स्थानमा उक्लिएको हो। उता पराजित ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३औं स्थानमा झरेको छ। पुछारमा च्यासल छ। खेलमा फ्रेन्ड्सका सुशील प्लेयर अफ दी म्याच चुनिए भने इमर्जिङ प्लेयरको उपाधि फ्रेन्ड्सका आकाश थापाले थापे।

दशौं चरणको खेलअघिको पत्रकार सम्मेलनमा कोरोनाका लागि खोप आवश्यक भए जस्तै आफ्नो टोलीलाई तीन अंकको खाँचो रहेको भन्दै जितको लक्ष्य खोजीमा मैदान उत्रिएको फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले दोस्रो डोज पनि आउँदा खेलमा खेलमा मिल्ने बताए।

प्रशिक्षक मृगेन्दले भने, ‘यो जित हामीलाई कोरोनाको पहिलो डोजजस्तै भएको छ। दोस्रो डोज पनि लगाउन आतुर छौं। बुस्टर डोज पनि लगाएर सुरक्षित हुन चाहन्छौं ।’

दिनको दोस्रो खेलमा इन्जुरी समयमा सम्हालिन नसक्दा जावालाखेल युथ क्लबले आर्मीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। जावलाखेल युथ क्लबका ओनगुनाले ५३औंं मिनेटमा गरेको गोलबाट अग्रता लिएको जावलाखेल युथले इन्जुरी समयको अन्तिम मिनेट सम्हालिएको प्रदर्शन गर्न नसक्दा दुई अंक गुमाउन पुगेको हो।

इन्जुरी समयमा आर्मीका सुमन अर्यालले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। बराबरीपछि बोल्दै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकिङ लाइन र खेलाडीको चोटले गर्दा टोलीले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको बताए ।

जितसँगै जावलाखेल युथ क्लबले १० खेलबाट ९ अंक भएको छ। जावलाखेल युथ क्लब ११औं स्थानमा यथावत् रह्यो। उता संघर्षपूर्ण बराबरी खेलेको आर्मी पनि १० खेलबाट १८ अंक जोडेर तेस्रो स्थानमा यथावत् नै छ दुई अंक गुमाएको आर्मीले दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।

प्रकाशित: २९ माघ २०७८ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App