६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सफ्ट टेनिसको सम्मान

अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार एक कार्यक्रम आयोजना गर्दै महासंघका विभिन्न ओहदामा मनोनयन गर्नुका साथै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ।

महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरेको हो। खेलकुदमन्त्रीका अलावा सम्मानित हुने अन्य व्यक्तिमा खेलकुद सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, पूर्वअध्यक्ष मनोजशमशेर राणा, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ वैज्ञानिक रिसर्चका अध्यक्ष प्राज्ञ डा. ऋषीकेशवविक्रम शाह, अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका एन्टी डोपिङ तथा मेडिकल कमिसनका प्रमुख डा.अजयशमशेर राणा, व्यवस्थापन कमिसनका प्रमुख एवं कोरियन सफ्ट टेनिस संघका उपाध्यक्ष ली ह्युन टेक छन्।  

यस्तै महासंघले लाइफटाइम एचिभमेन्ट अवार्डबाट महासंघका महासचिव चोई सियोङ कोनलाई सम्मान गरेको छ।

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष विनयविक्रम शाहले विभिन्न व्यक्तिलाई विभिन्न पदमा मनोनयन गरेका छन्। नेपाल सफ्ट टेनिस संघका उपाध्यक्ष विकास पाण्डेलाई अन्तर्राष्ट्रिय महासंघको डेपुटी महासचिव र अम्पायर तथा नियम कमिटीको अध्यक्षमा र संघका सदस्य आनन्दप्रसाद श्रेष्ठलाइ सोही कमिटीको सदस्यमा चयन गरेका छन्। यस्तै एसएसपी अशोक सिंह र प्रशिक्षक नीरा कायस्थलाई महासंघको निर्देशकमा मनोनयन गरेका छन्। प्रशिक्षक किरणकुमार खड्कालाई महासंघको निर्देशक र युएसएका लागि महासंघको संयोजकमा, संघका कोषाध्यक्ष सञ्जय नेपाललाई महासंघका निर्देशक तथा अस्ट्रेलिया र न्युजिल्यान्डको संयोजकमा, नारायणप्रसाद जोशीलाई महासंघको निर्देशक एवं जापानको संयोजकमा तथा सहप्राध्यापक सिद्धार्थराज पाण्डेलाई निर्देशक तथा कोरियाको संयोजकमा मनोनयन गरिएको छ ।

सोही अवसरमा अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघबाट प्राप्त खेलकुद सामग्री महासंघका महासचिव चोई सियोङ कोन र उपाध्यक्ष लि ह्युन टेकले मन्त्री गहतराजलाई र मन्त्रीले संघका उपाध्यक्ष विकास पाण्डेलाई हस्तान्तरण गरे ।

प्रकाशित: २४ माघ २०७८ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App