१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एफए कप: लिभरपुल अन्तिम १६ मा

कार्डिफ सिटीका ओलिभर डेनह्याम (बायाँ) र लिभरपुलका कोस्टास सिमिकास बलका लागि प्रतिस्पर्धा गर्दै। तस्बिरः एपी

एफए कप फुटबलअन्तर्गत आइतबार भएको खेलमा कार्डिफ सिटीलाई हराउँदै लिभरपुल पाँचौ चरणमा प्रवेश गरेको छ।

घरेलु मैदानमा च्याम्पियनसिप क्लब कार्डिफलाई ३–१ ले पराजित गर्दै लिभरपुलले अन्तिम १६ मा स्थान पक्का गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा गोल निकाल्न नसकेको लिभरपुलले दोस्रो हाफमा मात्र अग्रता बुनेको थियो।

लिभरपुलको सहज जितमा डिएगो जोटा, ताकुमी मिनामिनो र हार्भे इलिओटले गोल गर्दा कार्डिफका रुविन कोलविलले एक गोल फर्काए। लिभरपुलको घरेलु मैदान एनफिल्डमा पहिलो हाफ गोलरहित सकिए पनि दोस्रो हाफमा चार गोल निस्कँदा लिभरपुलले बाजी मारेको हो।

५३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए। ६८औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाउँदा ७६औं मिनेटमा वैकल्पिक खेलाडी हार्भे एलिअटले आकर्षक गोल गर्दै लिभरपुललाई ३–० ले अघि बढाएका थिए।

८०औं मिनेटमा रुविन कोलविलले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी भएको हो। लिभरपुलले अब अन्तिम १६ मा नर्विच सिटीको सामना गर्नेछ।

एफए कपअन्तर्गत शनिबार भएको खेलमा फ्रान्क लम्पार्डले सम्हालेको टोली एभर्टनले प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमाथि ४–१ को फराकिलो जित निकाल्दै पाँचौं चरणमा स्थान बनाउँदा अर्को खेलमा टोटेनह्यामले ब्राइटनलाई पराजित गर्दा ह्यारी केनले उत्कृष्ट प्रदर्शन गरे।

एभर्टनलाई सम्हालेको पहिलो खेलमा लाम्पार्डको टोली फराकिलो जित निकाल्दै एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको हो। शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डलाई ४–१ ले हराउँदा एभर्टनका एरी मिना, रिचार्लिसन, मासन होल्गेट र एन्ड्रोस टाउनसेन्डले एकएक गोल गरेका हुन्। यस्तै ब्रेन्टफोर्डका इभान टोनीले एक गोल फर्काएर अन्तर घटाएका थिए।

राफायल बेनिटेजलाई बर्खास्त गरेसँगै लाम्पार्डले टोली सम्हालेपछि एभर्टनले पछिल्ला सात खेलबाट दोस्रो जित निकाल्न सफल भएको हो। यसअघि २०२१ को जनवरीमा चेल्सीका लागि लाइन अप सम्हालेपछि शनिबार मात्र मैदानमा प्रशिक्षकका रूपमा देखापरेका थिए।

निकै कठिन अवस्थाबाट गुज्रिरहेको एभर्टनलाई सम्हालेका लाम्पार्डले पहिलो पटक नै सफलता दिलाउँदा ३१औं एरी मिनाको गोलबाट सुरुआती अग्रता लिएको थियो। त्यसपछिको पहिलो हाफको समयमा दुवै तर्फबाट राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न भने चुकेका थिए। दोस्रो हाफमा एभर्टनले सम्हालिएको प्रदर्शनलाई निरन्तरता दियो।

४८औं मिनेटमा रिर्चालिसनले गोल गर्दै अग्रता दोब्बर बनाए। ५४औं मिनेटमा इभान टोनीले पेनाल्टीबाट गोल फर्काउँदै अग्रता छोट्याए पनि बाँकी समयमा एभर्टनले दुई गोल थप्दै पाँचौं चरणमा स्थान पक्का गरेको हो। ६२औं मिनेटमा मासन होल्गेटले टोलीका लागि तेस्रो गोल गर्दा इन्जुरी समयमा एन्ड्रोस टाउनसेन्डले टोलीका लागि चौथो गोल थप्दै जित निश्चित गराएका थिए।

पहिलो खेलमा एभर्टनलाई सफलता दिलाएका लाम्पार्डले रणनीतिक हिसाबमा टोलीले खेल्दा दिन ऐतिहासिक भएको प्रतिक्रया दिए। ‘कठिन अवस्थामा टोलीलाई सम्हाल्दा समर्थकले दिएको साथमा म कृतज्ञ छु। साथै टोलीले गरेको मिहिनेतमा म निकै सन्तुष्ट पनि छु,’ एभर्टनका प्रशिक्षक लाम्पार्डले भने, ‘मेरो जीवनमा अविस्मरणीयमध्येको यो एउटा दिन हो। मेरा लागि यो विशेष रह्यो। सफलतालाई व्याख्या गर्ने मेरो लागि कुनै शब्द छैन।’

एफए कपअन्तर्गतकै अर्को खेलमा प्रिमियर लिग क्लब टोटेनह्यामले ब्राइटनलाई ३–१ गोलअन्तरले हराउँदै पाँचौं चरणमा प्रवेश गर्‍यो। टोटेनह्यामलाई जित दिलाउन ह्यारी केनले दुई गोल गर्दा एक गोल उपहार पायो। यस्तै यभेस बिसोउमाले एक गोल फर्काउँदै अन्तर घटाएका थिए।

सुरुआतबाट नै दबाब दिएर खेलेको टोटेनह्यामले खेलको १३औं मिनेटमा ह्यारी केनको गोलबाट अग्रता लिएको थियो। २४औं मिनेटमा सोली मार्चले आत्मघाती गोल गरेपछि टोटेनह्याम २–० ले अघि रह्यो। ६३औं मिनेटमा बिसोउमाले गोल गर्दै ब्राइटनलाई २–१ को स्थितिमा ल्याए पनि ६६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेनह्यामलाई ३–१ को जित निश्चित बनाएका थिए। यस्तै अन्य खेलमा क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरे।

प्रकाशित: २४ माघ २०७८ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App