१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

‘डेम्बेले उपयोगी हुन सक्छन्’

बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले ओसामाने डेम्बेलेले सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरे पनि उनी सिजनको बाँकी अवधिमा टोलीका लागि उपयोगी खेलाडी हुन सक्ने बताएका छन्।

क्लबले गरेको सम्झौता प्रस्ताव अस्वीकार गरेसँगै बार्सिलोनाले सरुवा बजार बन्द हुनुअघि नै डेम्बेलेले क्लब छाडी सक्नुपर्ने बताएको थियो। २४ वर्षे डेम्बेले सन् २०१७ मा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डबाट बार्सिलोनामा भित्रिएका थिए। नेइमार पेरिस सेन्ट जर्मन (पिएसजी) गएपछि उनी क्याम्प नोउमा भित्रिएका थिए तर चोटका कारण डेम्बेलेले धेरै समय मैदानमा बिताउन पाएका छैनन्। यस सिजन डेम्बेलेले स्पेनिस ला लिगाको मात्र ६ खेल खेलेका छन्। २०१७ मा क्लब आएपछि डेम्बेलेले एक सय २९ खेलमा ३१ गोल गरेका छन् भने २२ गोलका लागि असिस्ट गरेका छन्।

हाभीले प्रशिक्षकमा नियुक्त भएपछि नै डेम्बेले टोलीको प्रमुख खेलाडी भएको बताएका थिए तर डेम्बेलेको बार्सिलोनामा आफ्नो सम्झौताको अन्तिम पाँच महिना मात्र बाँकी छ।  पिएसजीले जनवरी सरुवा बजार बन्द हुनुअघि नै डेम्बेलेलाई अनुबन्धित गर्न खोजेको थियो। त्यस्तै इङ्लिस प्रिमियर लिगका अन्य क्लबले पनि डेम्बेलेलाई अनुबन्धित गर्न इच्छा देखाएका थिए तर डेम्बेले र बार्सिलोना तत्कालै सम्झौता अन्त्य ग पनि यस सिजन अवधिभर क्याम्प नोउमै रहने सहमतिमा पुगिसकेका छन्।

हाभीले डेम्बेलेलाई टोलीबाहिर राख्नु मूर्खता हुने बताए। एट्लेटिकोविरुद्धको खेलका लागि हाभीले डेम्बेलेसहित हालै मात्र क्लबमा भित्रिएका एड्मा ट्राउरे र पियरे इमेरिक औबामयाङलाई टोलीमा समावेश गरेका छन्।  ‘हामीले अहिलेसम्म डेम्बेलेको विकल्प भेट्टाएका छैनांै,’ ला लिगामा आइतबार एट्लेटिको मड्रिडसँगको खेलअघि हाभीले भने, ‘उनले सम्झौता नवीकरणको प्रस्ताव अस्वीकार गरे तर यसको अर्थ उनले टोलीबाट सिजनको बाँकी खेल खेल्दिन भनेका छैनन्। उनी अझै पनि टोलीका प्रमुख खेलाडी हुन्।

हामीले टोलीमा उनको उपयोग गर्नुपर्छ। उनले पनि टोलीमा शतप्रतिशत दिन्छन् भन्नेमा म आशावादी छु।’ त्यस्तै हाभीले रक्षक रोनाल्ड अराजोसँग पनि क्लब सम्झौता नवीकरण गर्नका लागि सकारात्मक रहेको बताए। त्यस्तै हाभीले हालै मात्र टोलीमा भित्रिएका ट्राउरे र औबामयाङको उपस्थितिले टोलीले स्वाभाविक लय भेट्टाउने आशा व्यक्त गरे। 

प्रकाशित: २३ माघ २०७८ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App