२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फाइनलमा सालाह–माने आमनेसामने

इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका टोली सहयात्री मोहम्मद सालाह र साडियो माने अफ्रिका कप अफ नेसन्समा आमनेसामने हुने भएका छन्।

बिहीबार आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेसँगै इजिप्टले सेनेगलविरुद्धको फाइनल भेट पक्का गरेको हो। सेनेगल बुधबार पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो।

क्यामरुनका तीन खेलाडी लगातार पेनाल्टी सुटआउटमा गोल गर्न असफल भएपछि इजिप्टका कप्तान सालाह पेनाल्टी हान्न जान परेन। यसअघि निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोली गोल गर्न असफल भएका थिए। पेनाल्टी सुटआउटमा इजिप्टका गोलकिपर मोहम्मद अवोउ गावाल नायक साबित भए। उनले हरोल्ड मौकान्डी र जेम्स ली सिलिकीको प्रहार रोकेका थिए। क्यामरुनका क्लिन्टन नेजईको प्रहार बाहिरिएको थियो।

इजिप्ट कीर्तिमानी आठौं पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जित्ने लक्ष्यमा छ भने सेनेगल पहिलो उपाधिको खोजीमा छ। फाइनल खेल आइतबार ओलेम्बे रंगशालामा हुनेछ। ‘हामीले प्राप्त गरेको सफलतामा हामी उत्साही छाैँ, तर अझै एक कदम बाँकी छ,’ इजिप्टका सहायक प्रशिक्षक दिया अल साइदले भने। इजिप्टका मुख्य प्रशिक्षक कार्लोस क्विरोज भने खेलदौरान दोहोरो पहेँलो कार्डको दर्शन गर्दैै दर्शनदीर्घामा बस्न बाध्य भएका थिए।

घरेलु मैदानमा उपाधि जित्ने सपनामा पूर्णविराम लागेपछि क्यामरुन आइतबार बुर्किना फासोलाई हराउँदै कम्तीमा तेस्रो स्थानमा बस्न चाहन्छ। ‘हामी निकै दुखी छाैँ र २७ मिलियन क्यामरुनी नागरिक पनि, तर यो फुटबल हो,’ क्यामरुनका प्रशिक्षक टोनी कन्सेकाओले भने। क्यामरुन र कामोरोसबीचको अन्तिम १६ भिडन्त सकिएको मात्र १० दिन बितेको छ। मैदानमा भागदौड हुँदा ८ जनाको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए।

सन् २०१७ को फाइनलमा इजिप्ट क्यामरुनसँग २–१ ले पराजित भएको थियो। सो खेलमा क्यामरुनका वर्तमान कप्तान भिसेन्ट अवोबकारले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै टोलीलाई उपाधि दिलाएका थिए। अवोबकारले जारी प्रतियोगितामा क्यामरुन टोलीको कप्तानी सम्हालेका थिए। उनले कुल ६ गोल गरेका थिए। तर इजिप्टविरुद्धको सेमिफाइनलमा भने अवोबकारको जादु चल्न सकेन।

प्रकाशित: २२ माघ २०७८ ०२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App