१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

शुक्रबारदेखि शीतकालीन ओलम्पिक सुरु हुँदैः बहिष्कार र निगरानीले आयोजक दबाबमा

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाचले कोभिड–१९ र मानव अधिकारको विषयले घेरिएको बेइजिङ ओलम्पिकले शीतकालीन खेलकुदलाई नयाँ स्तरमा परिवर्तन ल्याउने बताएका छन्।

बेइजिङ शीतकालीन ओलम्पिकको पूर्वसन्ध्यामा अध्यक्ष बाचले बेइजिङ ओलम्पिकबाट शीतकालीन खेलकुदहरू नयाँ स्तरमा विकास हुने बताएका हुन्। चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले यस ओलम्पिकबाट विश्वका नरम शक्तिको जित हुने आशा गरे तापनि कूटनीतिज्ञको बहिष्कार, विश्वका ठूला राष्ट्रको निगरानी र चेतावनीले आयोजक राष्ट्रलाई समस्या उत्पन्न गरिरहेको छ। शुक्रबारदेखि बेइजिङमा शीतकालीन ओलम्पिक सुरु हुँदै छ, जहाँ क्यानाडा, बेलायत अमेरिका र अस्ट्रेलियालगायत १२ वटा पश्चिमा राष्ट्रहरूले कूटनीतिक बहिष्कार गरेका छन्।

उनीहरूले यस ओलम्पिकमा सरकारी स्तरबाट कुनै पनि प्रतिनिधि पठाउने छैनन्। बहिष्कार गरेका देशका खेलाडीले मात्र बेइजिङ विन्टर ओलम्पिकमा सहभागिता जनाउनेछन्। चीनले मानव अधिकारविरोधी घटनाहरू गरिरहेको भन्दै यी देशहरूले कूटनीतिक बहिष्कार गरेका हुन्। तथापि, चीनले भने यसबारे अस्वीकार गर्दै आइरहेको छ।

अमेरिका र एफबिआईको साइबार सेक्युरिटीले समेत आफ्ना खेलाडीलाई नियमित प्रयोग गर्ने मोबाइल र अन्य इलेक्ट्रोनिक सामान चीन नलैजान आग्रह गरेको छ। उनीहरूले काम चलाउ मोबाइल र इलेक्ट्रोनिक सामान मात्र लैजान खेलाडीलाई भनेको छ।

शुक्रबारबाट सुरु हुने शीतकालिन बेइजिङ ओलम्पिक आगामी फेब्रुअरी २० सम्म सञ्चालन हुनेछ। मानवनिर्मित हिउँमा उक्त ओलम्पिक सञ्चालन हुँदै छ। दुई पटकको ओलम्पिक च्याम्पियन स्नो बोर्डरकी अमेरिकन खेलाडी जेमी एन्डरसनले कृत्रिम रूपमा बनाइएको शतहलाई ‘बुलेट ब्रुफ’ भन्दै अभ्यास गर्न कठिन हुने प्रतिक्रिया दिएकी छन्। चीनमा शीतकालीन खेलकुदको परम्परा निकै कम छ। तथापि, चीनले शीतकालीन ओलम्पिक आयोजना गर्नु एक अर्ब ४० करोड जनसंख्या भएको देशका मानिसलाई स्की र हिउँको खोजीमा प्रेरणा जगाउनु रहेको बताएको छ।

यसबीच आइओसीका अध्यक्ष बाचले आफ्नो लक्ष्य पनि पूरा भइसकेको प्रतिक्रिया दिएका छन्। ‘अब आज हामी चीन पनि शीतकालीन खेलकुद भएको राष्ट्र हो भन्न सक्छौं,’ आइओसीको बैठकमा उनले भने,‘यहाँ सुरक्षित र सफल शीतकालीन ओलम्पिकका लागि सबै पक्षको व्यवस्था छ।’ चीन र आइओसीले आयोजनालाई धमिलो पार्ने प्रयास भएमा उनीहरू नै पाखा लाग्ने प्रतिक्रियासमेत दिएका छन्। बुधबारदेखि नै कर्लिङको प्रतिस्पर्धा भने सुरु भइसकेको छ, जहाँ हिउँमा बनाइएका दर्शक पनि राखिएका थिए। सन् २००८ मा चीनले ग्रीष्मकालीन ओलम्पिकको आयोजना गरेपछि उनीहरूलाई नयाँ शक्तिको रूपमा चिनाएको थियो।

महिलाको आइस हक्की र फ्रिस्टायलको स्कीका प्रतिस्पर्धा पनि भइरहेका छन्। करिब तीन हजार खेलाडी, दश हजार कर्मचारी, स्वयम्सेवक र सञ्चारकर्मीहरू बेइजिङको ठूलो भीडबाट सुरक्षित भएर शीतकालीन ओलम्पिकमा सहभागी हुनेछन्। सन् २०१९ मा चीनबाट देखिएको भाइरस अभैm पनि विश्वभर यथावत् छ। यस पटक चीनमा भाइरसबाट बच्नका लागि दैनिक रूपमा खेलाडीको कोभिड परीक्षण गरिनेछ। साथै सहभागी सबैलाई अनिवार्य रूपमा मास्क प्रयोगको गर्ने नियम लागू भएको छ।

बुधबार मात्र ५५ जना खेलकर्मीमा संक्रमण पुष्टि भएको छ। यद्यपि, बेइजिङ २०२२ का मेडिकल विशेषज्ञ प्यानलका अध्यक्ष ब्रयान म्याकक्लोस्केले कोही पनि गम्भीर रूपमा बिरामी नभएको प्रष्ट पारेका छन्। यद्यपि, कोभिडभन्दा पनि अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडालगायत राष्ट्रले चीनमा मानव अधिकार हनन भएको आरोप लगाउँदै कुटनीति बहिस्कारले बेइजिङलाई ठूलो समस्यामा पारेको छ। चीनले अल्पसंख्यक उइगुर मुस्लिम समुदायमाथि दमन गरिरहेको उनीहरूको आरोप छ। वासिङ्टनले चीनबाट सिनसियाङ क्षेत्रमा नरसंहार भएको आरोप लगाएको छ।

यद्यपि, चीनले कुटनीति बहिस्कार मूल्य अमेरिकाले चुकाउनुपर्ने चेतावनी दिइसकेको छ। यसबीच रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले शीतकालीन ओलम्पिकको उद्घाटनमा सहभागी हुँदै बहिस्कार गर्ने राष्ट्रलाई चुनौती दिएका छन्। चीनको सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा पुटिनले खेल क्षेत्रमा राजनीतिकरण र भेदभावको विपक्षमा आफूहरू रहेको प्रतिक्रिया दिएका छन्। डोपिङको आरोप प्रमाणित भएपछि रसिया खेलाडीहरू भने रसियन ओलम्पिक कमिटीको ब्यानर प्रतिस्पर्धा गर्दैछन्।  

प्रकाशित: २१ माघ २०७८ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App