२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकहरु दौडिने

कोभिडको वर्षेनी नयाँ भेरियन्टले आक्रान्त बनाईरहेको छ। अल्फा, विटा, डेल्टा हुदैं ओमिक्रोनको त्रास फैलिएको छ। त्रासकै बीचमा खेलकुद गतिविधिलाई पनि निरन्तरता दिदैं आएको छ। संक्रमण केही मत्थर हुदैं गएपछि खेलकुद गतिविधिलाई चलायमान बनाउन आयोजकहरुले तदारुकता देखाएका छन्।  

केही प्रतियोगितालाई थाँती नै राखियो। केहीलाई प्रतियोगितालाई भने प्रतिष्ठासँग जोड्दै आयोजना गरिएको छ। ओमिक्रोनको सन्त्रास शुरुभएसँगै पोखरा रंगशालामा टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता टुग्याईएको छ। त्यसपछि केहीदिन दर्शकविना नै सहारा क्लबले आहा रारा गोल्डकप आयोजना गर्यो। सेमिफाईनल र फाईनल खेलमा भने दर्शकलाई फुटबल हेर्नेअवसर प्रदान गर्यो।  

त्रास उस्तै छ । उस्तै त्रासको बीचमा पोखराको ठूलो इभेण्टको रुपमा रहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको संघारमा छ। आगामी फागुन ७ गते शनिबार पोखरामा १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथन हुने छ। आन्तरिक तयारी गरिएको छ। ‘कोभिडले कन्फ्युजन नबनाएको अवस्थामा अन्तर्राष्ट्रिय म्याराथन गर्ने पूर्ण तयारीमा जुटेका छौं,’ आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुलीले भने, ‘यो वर्षको प्रतिस्पर्धामा केन्याका धावकले सहभागिता जनाउने निश्चित भईसकेको छ।’ उनका अनुसार कोभिडले लकडाउन नभएको खण्डमा केन्याली धावक हेल्थ प्रोटोकल अनुसार व्यक्तिगत जोखिममा आउने निश्चित छ।  

पाँच केन्याली म्याराथनको लागि आउने छन्। उनीहरुले नाम दर्ता गराईसकेका छन । उनीहरुलाई मञ्चले पनि निमन्त्रणा पठाईसकेको छ। आवश्यक स्वास्थ्य सम्बन्धीको मापदण्ड पुरा गर्ने निर्देशनसहितको परिपत्र गरिसकिएको भनाई थियो। अन्य अन्तर्राष्ट्रिय धावकको पनि सहभागिता हुने विश्वास लिएपनि कोभिडको असर कस्तो हुन्छ पर्ख र हेरको अवस्था रहेको अध्यक्ष पराजुलीले बताए।  

महिलाको हाफ म्याराथन र खुल्ला म्याराथनमा धावकहरुले प्रतिस्पर्धा गर्नेछन्। म्याराथनमा महिला तथा पुरुष दुबैले सहभागिता जनाउन सक्नेछन्। हाफ म्याथनमा भने नेपालका विभागीयदेखि अन्य जिल्ला धाविकाहरुको प्रतिस्पर्धा गर्नेछन्। ‘क्राउड कम गर्न यो वर्षदुई चरणमा कार्यक्रम गरिने छ,’ उनले भने, ‘पहिलो चरणमा हाफ र म्याराथन गरिनेछ। दोस्रो चरणमा १० किलोमिटर खुल्ला, विद्यालयस्तरीय ५ किलोमिटर, ह्वीलचियर तथा दृष्टिविहीन दौड आयोजना गरिनेछ।’ गतवर्ष पहिलो चरणमा म्याराथन र हाफ म्याराथन गरिएको थियो। त्यसपछि १० किलोमिटर आयोजना गरियो। विद्यालयस्तरीय पछि गरियो। अन्तिममा ह्वीलचियर र दृष्टिविहीन दौड आयोजना गरिएको थियो।  

म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छ। उपविजेताले २ लाख रुपैयाँ पाउँदा तेस्रो हुने धावकले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै महिला तर्फको हाफ म्याराथन विजेता धाविकाले १ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ७५ हजार र तेस्रो स्थानमा आउने धाविकाले नगद ५० हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन्। लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दूधले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रायोजन गर्दै आएको छ।  

प्रकाशित: १७ माघ २०७८ ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App