१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बार्टी र कलिन्सबीच उपाधि भिडन्त

अस्ट्रेलियन स्टार एस्लेघ बार्टी र अमेरिकन स्टार ड्यानियल कलिन्स वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधिका लागि भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो सेमिफाइनलमा ड्यानियलले विश्व नम्बर सात इगा सियाटेकलाई स्तब्ध बनाउँदै विश्व नम्बर एक बार्टीसँगको उपाधि भिडन्त पक्का गरिन्। २७औं वरीयता प्राप्त ड्यानियलले रड लाभेर एरिनामा फ्रेन्च ओपनको पूर्वच्याम्पियनसमेत रहेकी विश्व नम्बर सातकी सियाटेकलाई ६–४ र ६–१ ले सहजै हराइन्।

उनी पहिलो पटक कुनै पनि ग्रान्ड स्लामको फाइनलमा पुगेकी हुन्। यस वर्ष अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो खेलाडी बन्दा एस्लेघ बार्टीले अमेरिकन खेलाडी मेडिसन केजमाथि सहज जित निकालिन्। विश्व नम्बर एक बार्टीले ५१औं वरीयताकी केजमाथि ६२ मिनेटमा नै जित निकाल्दै पहिलोपटक घरेलु भूमिमा हुने ग्रान्ड स्लामको फाइनलमा स्थान बनाएकी हुन्। बार्टीले केजलाई ६–१ र ६–३ ले सहजै हराइन्। बार्टी सन् १९८० पछि अस्ट्रेलियन ओपनको फाइनलमा पुग्ने पहिलो घरेलु महिला खेलाडीसमेत भइन्। त्यति बेला वेन्डी टर्नबुल फाइनलमा पुगे पनि उपाधि जित्न असफल रहिन्। त्यसको दुई वर्षअगाडि भने क्रिस ओनिलले अस्ट्रेलियन ओपन जितेकी थिइन्।

यस पटक बार्टीले त्यो सफलता प्राप्त गर्ने आशा गरिएको छ। उनी आफ्नो करियरमा तेस्रो ग्रान्ड स्लाम थप्ने अभियानमा समेत छिन्। यसअघि उनले सन् २०२० को फ्रेन्च ओपन र २०२१ को विम्बल्डनको उपाधि उचालेका थिइन्। यस वर्ष बार्टी लगातार १० खेलमा अपराजित छन्। ‘इमानदारिताका साथ भन्नुपर्दा यो अविश्वसनीय सफलता हो। मैले यहाँ सबैभन्दा उत्कृष्ट टेनिस खेलेकोमा निकै खुसी भएकी छु,’ बार्टीले भनिन्। अब यदि फाइनलमा हार बेहोरे पनि उनी विश्व नम्बर एक नै रहनेछिन्।

‘बल सुस्त रूपमा आइरहेको थियो। मैले लगातार प्रयास गरेँ। बललाई सहज बनाउन हरेक बलका लागि दौडिएँ। केजलाई दबाबमा राख्न खोजें, किनकि उनी जतिखेर पनि खेललाई आफ्नो पक्षमा उल्टाउन क्षमता राख्छिन्,’ बार्टीले भनिन्। उनले आफ्नो जित प्रतिद्वन्द्वीप्रति समर्पित गरिन्।

किनकि विश्व नम्बर १० की पूर्वखेलाडी केज केही वर्षको चोटबाट माथि उठेकी हुन्। ‘जहाँबाट उनी फर्ककी छन्, त्यो देख्दा निकै खुसी छु,’ बार्टीले भनिन्, ‘उनी एक असल मानव हुन्।’ बार्टी अहिले उत्कृष्ट लयमा देखिएकी छन्। उनले जारी प्रतियोगितामा एक सेट पनि गुमाएकी छैनन्।

शीर्ष वरीयताकी बार्टीले बुधबार विश्रामको समयमा आफ्नो टोलीसँग क्रिकेट खेलिरहेकी थिइन्। जसले बिहीबारको सेमिफाइनलमा टेनिसमा पनि निकै राम्रो प्रदर्शन देखाइन्। २६ वर्षीया केजका लागि घरेलु भूमिमा राम्रो लयमा रहेकी बार्टीलाई रोक्नु कठिन नै थियो।

तर, १० खेलमा अपराजित लयमा रहेकी केज पनि उतिक्कै सशक्त खेलाडी थिइन्। यद्यपि, अमेरिकन खेलाडी केजले सफलता पाउन भने सकिनन्। अस्ट्रेलियन बार्टीले उनका हरेक सर्भलाई छिट्टै फिर्ता पठाइन् र खेल आफ्नो नियन्त्रणमा राखिन्। पाउला बाडोस र बारबोर क्रेजचिकोभाजस्ता शीर्ष १० खेलाडीलाई स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाएकी केजले थप सफलता पाउन सकिनन्।

प्रकाशित: १४ माघ २०७८ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App