१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नाडालको संघर्षपूर्ण जित

अस्वस्थ राफाइल नाडालले मंगलबार अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा डेनिस सापोभालोभमाथि पाँच सेटको संघर्षपूर्ण जित दर्ता गरेपछि आफूलाई शारीरिक रूपमा असहज भएको प्रतिक्रिया दिएका छन्।

स्पेनिस स्टार नाडालले पुरुषततर्फ कीर्तिमानी २१ ग्रान्ड स्लामबाट दुई जित टाढा रहने क्रममा रड लाभेर एरिनामा २२ वर्षे क्षमतावान् खेलाडीमाथि संषर्षपूर्ण जित निकालेका थिए। छैटौं वरीयताका नाडालले १४औं वरीयता प्राप्त क्यानडाका खेलाडी डेनिससँग चार घन्टा ८ मिनेटको संघर्षपश्चात् जित आत्मसात गरेका थिए।

अनुभवी नाडालले पहिलो दुई सेट आफ्नो बनाए पनि युवा डेनिसले उनलाई कडा चुनौती दिए। नाडालले पहिलो दुई सेट ६–३ र ६–४ ले आफ्नो बनाए। तर, डेनिसले तेस्रो सेट ६–४ र चौथो ६–३ ले आफ्नो पक्षमा पार्दै स्पेनिस लिजेन्डमाथि चुनौती थपिदिए।

यद्यपि, नाडालले पाँचौं सेट ६–३ ले आफ्नो बनाउँदै युवा डेनिसको लक्ष्य पूरा हुन दिएनन्। ‘इमानदारीपूर्वक भन्नुपर्दा आज मैले शारीरिक रूपमा निकै कष्ट महसुस गरेँ। तर, मेरो सर्भिस निकै राम्रो रह्यो। हरेक खेल जित्दा मेरो सफलताको पछाडि सर्भिस नै हुने गर्दछ,’ नाडालले भने, ‘सेमिफाइनलसम्मको यात्रा तय गर्नु भनेको मेरा लागि विशेष क्षण हो।

त्यसैले आज म खुसी पनि छु। उनलाई शुक्रबारको सेमिफाइनलअगाडि दुई दिन आराम गर्ने समय मिल्नेछ। नाडालले भने मेलबर्नमा हुने सेमिफाइनलमा माटियो बेरेट्टिनी वा गाइल मोनफिल्सविरुद्ध खेल्नेछन्। उनका प्रतिद्वन्द्वीद्वय नोभाक जोकोभिच र रोजर फेडेररले पुरुषतर्फ सर्वाधिक २० ग्रान्ड स्लाम जितेका छन्।

यस प्रतियोगितामा जोकोभिच र फेडरर दुवै अनुपस्थित रहेकाले यो कीर्तिमानको शीर्षमा पुग्ने नाडाललाई अवसर हुनेछ। फेडेररले चोटका कारण वर्षको पहिलो ग्रान्ड स्लाम खेल्न पाएनन् भने जोकोभिचलाई अस्ट्रेलियाले डिपोर्ट गरिदिएको थियो।

नाडालले आफू रेकेर्डको पछि नलागेको समेत बताएका छन्। ‘हामी समान २० ग्रान्ड स्लामका साथ छौं, जुन सत्य हो। हाम्रो खेलमा यो रेकर्ड बाँड्न पाउनु खुसीको कुरा हो। यसको एक हिस्सेदारका रूपमा हुँदा आफूलाई गर्वको महसुस भएको छ,’ नाडालले भने, ‘यो अवस्थामा हामी सबै खुसी छौं। हामी तीनैले यस खेलका लागि केही गर्न सकेकोमा खुसी पनि छौं। अन्य पक्ष हाम्रा लागि सरोकार छैन।’  

सन् २००९ को अस्ट्रेलियन ओपन विजेता नाडाललाई गत संस्करणमा भने चोटले सताएको थियो। नाडालले मंगलबार सहजै पहिलो दुई सेटमा अग्रता लिए। तर, डेनिसको चुनौतीपश्चात् नाडालले पेटमा दुखाइको महसुस पनि गरेका थिए। ‘मैले पेट असहज भएको महसुस गरेँ।

उनीहरूले मेरो शरीर जाँच पनि गरे, तर सबै ठीक छ भने,’ चौथो सेटमा मेडिकल सहायता लिएका नाडालले भने, ‘मैले दुखाइ कम गर्न औषधिको प्रयोग पनि गरेका थिएँ।’ विश्व नम्बर तीन एलेक्जेन्डर भेरेभमाथि सहज तीन सेटको जित निकालेका डेनिस नाडाललाई चुनौती दिन सफल भए पनि अन्ततः हार बेहोर्न बाध्य भए। संघर्षको हारपश्चात् उनले रिसाउँदै कोर्टमा र्‍याकेट पनि फ्याँकेका थिए।

यता महिलातर्पm घरेलु टोलीकी अस्लेघ बार्टी र अमेरिकन खेलाडी म्याडिस केजबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ। विश्व नम्बर एक बार्टीले क्वार्टरफाइनलमा विश्वको २१औं वरीयता प्राप्त अमेरिकन स्टार जेसिक पेगुलालाई ६–२ र ६–२ ले सहजै हराउँदै घरेलु भूमिमा पहिलो ग्रान्ड स्लाम जित्ने लक्ष्य कायमै राखिन्।

यस पटक बार्टीले उपाधि जित्न सके सन् १९७८ पश्चात् घरेलु भूमिमा अस्ट्रेलियन ओपन जित्ने पहिलो महिला खेलाडी हुनेछिन्। सन् २०२१ की विम्बल्डन च्याम्पियन बार्टी यस पटक यो सफलता प्राप्त गर्ने लक्ष्यमा छिन्। केजले भने क्वार्टरफाइनलमा विश्व नम्बर चार बारबोरा क्रेजचिकोभाविरुद्ध ६–३ र ६–२ को जित रचेकी थिइन्।

प्रकाशित: १२ माघ २०७८ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App