१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जोकोभिचद्वारा गल्ती स्वीकार

नोभाक जोकोभिचले बुधबार अस्ट्रेलिया भ्रमणमा आफूले कागजात बुझाउँदा गल्ती भएको र तोकिएको समयसम्म आइसोलेसनमा नबसेको स्वीकार गरेका छन्।

जोकोभिचमा डिसेम्बर १६ मा कोभिड १९ संक्रमण पुष्टि भएको थियो। त्यसयता अनिवार्य रूपमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने भए पनि उनले भने सो अवधिमा सर्बियाका ह्यान्डबल खेलाडीलाई भेटेको तस्बिरसमेत सार्वजनिक भएको थियो। विश्व नम्बर एक जोकोभिच कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने लक्ष्यमा छन्।

अस्ट्रेलिया सरकारले बिहीबार जोकोभिचले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाण पेस गर्न नसकेको भन्दै उनको भिसा रद्द गरिदिएको थियो। त्यसलगत्तै उनले अनलाइनमार्फत गरेको अपिलमा मेनलबर्न अदालतले तत्काल सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। सोमबार सोही मुद्दामा अन्तिम सुनुवाई गर्दै मेलबर्न अदालतले जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलिया सरकारको निर्णय खारेज गरिदिएको थियो।

अस्ट्रेलिया सरकारको अध्यागमन मन्त्रालयले भने जोकोभिचको भिसा पुनः रद्द हुन सक्ने जनाएको थियो। मन्त्रालयले जोकोभिचले बुझाएको कागजातबारे अध्ययन भइरहेको बताएको थियो। ‘अहिले विश्व नै महामारीको चपेटामा परेको छ र कहिलेकाहीं यस्तो गल्ती हुन सक्छ,’ जोकोभिचले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्ट्रेलियाका अध्यागमनमन्त्री एलेक्स हकले जोकोभिचको भिसा पुनः रद्द गर्ने प्रक्रिया सुरु भएको बताएपछि उनको अस्ट्रेलियन ओपनको उपाधि रक्षा लक्ष्य संकटमा परेको छ। जोकोभिचले भने कोभिड १९ संक्रमण पुष्टि भएपछि आफू आइसोलेनमा नबसेर सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्ने खबरमा कुनै सत्यता नभएको बताए।

कोभिड १९ संक्रमण पुष्टि भएकै दिन विभिन्न सार्वजनिक कार्यक्रमा सहभागी भएको तस्बिर बाहिरिएको थियो। जोकोभिचले भने आफू कार्यक्रमबाट फर्किएपछि मात्र पिसिआर रिपोर्ट आएको दाबी गरेका छन्। तर जोकोभिचले डिसेम्बर १८ मा फ्रेन्च पत्रिका एल इक्युपेका लागि अन्तर्वार्ता र फोटोसुटका लागि गएको दाबी गरेका छन्।

‘मैले एल इक्युपेका समय दिइसकेको थिएँ, त्यसैले उनलाई निराश पार्न चाहिन। मैले अन्तर्वार्ताको क्रममा पूर्ण रूपमा सामाजिक दूरीको कायम गर्नुका साथै मास्क पनि लगाएको थिएँ,’ जोकोभिचले भने, ‘फोटोसुटका क्रममा भने मैले मास्क खोलेको थिएँ। हो, मैले गल्ती गरेको हुँ। मैले सो कार्यक्रम अर्को मितिमा सार्नु पर्नेथ्यो।’ ‘मेरा एजेन्टले अस्ट्रेलिया भ्रमण दौरान फर्म भर्ने क्रममा गल्ती गर्दै मैले स्पेनबाट अस्ट्रेलिया पुग्नुअघि सर्बिया पुगेको भनेर उल्लेख गरेछन्,’ जोकोभिचले भने, ‘यो मानवीय गल्ती हो।’

प्रकाशित: २९ पुस २०७८ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App