१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जुनुमाया र सन्जुको राष्ट्रिय कीर्तिमान

नेपाल पुलिसकी जुनुमाया छन्त्याल र बाँकेकी सन्जु चौधरीले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्जु चौधरीले सिनियर महिला ५९ केजी तौल समूहमा आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमान सुधार गरिन्।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा सन्जुले स्न्याचमा ७८ केजी र क्लिन एन्ड जर्कमा ९८ केजीसहित कुलमा १ सय ७६ केजी तौलको नयाँ कीर्तिमान कायम गरेकी हुन्। यसअघि उनकै नाममा स्न्याचमा ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुलमा १ सय ७१ केजी तौलको कीर्तिमान थियो।

स्न्याचमा पहिलो पटक ७० केजी भार वहन गरेकी सन्जुले दोस्रो प्रयासमा ७५ केजी तौल उचाल्दै नयाँ कीर्तिमानमा बनाइन्। तेस्रो प्रयासमा ७८ केजी भार वहन गर्दै सन्जुले पुनः सुधार गरिन्। क्लिनमा पहिलो प्रयासमा ९१ केजी भार उचालेकी उनले दोस्रो प्रयासमा ९८ केजी उठाउन भने सकिनन्।

तर तेस्रो प्रयासमा ९८ केजी तौल उठाउँदै कुलमा उनले १ सय ७६ केजी भारका साथ नयाँ कीर्तिमान बनाइन्। यस तौलमा त्रिभुवन आर्मीकी प्रशंसा पुन दोस्रो भइन्। उनले स्न्याचमा ४८ केजी र क्लिनमा ५७ केजी गरी कुल १ सय ५ केजी भार उठाइन्।

सशस्त्र प्रहरी बल (एपिएफ) की सरिता लामाले स्न्याचमा ४३ केजी र क्लिनमा ५४ केजीका साथ कुल ९७ केजी भार उचालिन्। बुधबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बन्दा पुलिसकी जुनुमाया छन्त्यालले ७१ केजी तौलमा उक्त सफलता पाइन्। उनले स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८८ केजीका साथ कुल १ सय ५६ केजी भार वहन गर्दै नयाँ कीर्तिमानमा बनाइन्।

यस तौल समूहमा यसअघि पुलिसकै राजलक्ष्मी थापाको नाममा कीर्तिमान थियो। उनले तेस्रो सुनीललाल स्मृति भारोत्तोलन प्रतियोगितामा स्न्याचतर्फ ६७ केजी र क्लिनमा ८७ केजी गरी कुलमा १ सय ५४ केजीको कीर्तिमान बनाएकी थिइन्।

एपिएफकी सरस्वती गुरुङ स्न्याचमा ५८ केजी र क्लिनमा ६९ केजी गरी कुल १ सय २७ केजी भार उठाउँदै दोस्रो भइन्। एपिएफकै अञ्जली श्रेष्ठ कुल १ सय ८ केजी भार उठाउँदै तेस्रो भइन्। उनले स्न्याचमा ४८ केजी र क्लिनमा ६० केजी भार उठाइन्। युथ महिला ५५ केजीमा सप्तरीकी पूजा मण्डलले स्न्याचमा ४० केजी र क्लिनमा ५६ केजी गरी कुलमा ९६ केजी भारका साथ स्वर्ण जितिन्।

दोस्रो स्थानकी बर्दियाकी सामना थारूले स्न्याचमा ३५ केजी र क्लिनमा ३८ केजी गरी कुल ७३ केजी भार वहन गरेकी थिइन्। सप्तरीकी सन्तोषी यादव तेस्रो भइन्। उनले स्नाचमा ३० केजी र क्लिनमा ४० केजीका साथ कुल ७० केजी तौल उठाइन्।

सिनियर महिला ५५ केजीमा आर्मीका खेलाडीहरूको वर्चस्व रह्यो। आर्मीका प्रभा थारूले स्वर्ण, सृजना तामाङले रजत र अस्मिता पुलामीले कांस्य पदक जिते। प्रभाले स्न्याचमा ५२, क्लिनमा ६८ गरी कुल १ सय २० केजी उठाइन्।

सृजनाले स्न्याचमा ४४, क्लिनमा ५१ केजी र अस्मिताले स्न्याचमा ४०, क्लिनमा ५५ केजी गरी कुलमा समान ९५ केजी भार उठाए पनि प्राविधिकका आधारमा दोस्रो र तेस्रो भए। प्राविधिक सञ्जय महर्जनअनुसार समान तौल वहन हुँदा पहिले भार उचाल्नेलाई शीर्ष वरीयता प्रदान गर्ने नियमका कारण सृजना दोस्रो भइन्।

पुरुष सिनियर ७३ केजी तौलमा आर्मीका जीवन तामाङले स्वर्ण जित्दा स्न्याचमा ८६ केजी र क्लिनमा १ सय १३ गरी कुल १ सय ९९ केजी भार उठाए। एपिएफका राहुलकुमार दास दोस्रो भए।

उनले स्न्याचमा ८२ केजी र क्लिनमा १ सय २ केजीका साथ कुल १ सय ८४ केजी भार उचाले। कास्कीका धनबहादुर झाँक्री मगर तेस्रो हुँदा स्न्याचमा ८५ केजी र क्लिनमा ९८ केजी गरी कुल १ सय ८३ केजी भार वहन गर्न सफल भए।

कञ्चनपुरका हेमन्त पालले ७३ केजी तौलको जुनियर र युथ दुवैमा स्वर्ण जिते। युथले जुनियर र सिनियर दुवैमा प्रतिस्पर्धा गर्न पाइने नियम रहेको संघका सदस्य एवं प्राविधिक महर्जनले जानकारी दिए। पालले स्न्याचमा ७७ केजी, क्लिनमा ९५ केजी गरी कुल १ सय ७२ केजीका साथ स्वर्ण जिते।

प्रकाशित: २९ पुस २०७८ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App