४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

चेल्सी र लेस्टर चौथो चरणमा

एफए कपको तेस्रो चरणअन्तर्गत खेलमा न्युक्यासल युनाइटेड क्याम्ब्रिजसँग १–० ले पराजित हुँदा चेल्सी र लेस्टर सिटीले आआफ्ना प्रतिद्वन्द्वीमाथि फराकिलो जित निकाल्दै चौथो चरणमा स्थान बनाएका छन्।

न्युक्यासलमा अनुबन्धित भएपछि पहिलो पटक मैदान उत्रिएका किरन ट्रिपियरको टोलीमाथि क्याम्ब्रिजले १–० को संघर्षपूर्ण जित निकालेको हो। शनिबार राति नै भएको अर्को खेलमा सुरुआती ४० मिनेटमा चार गोल गरेको चेल्सीले चेस्टरफल्डमाथि ५–१ को फराकिलो जित निकाल्दा प्रिमियर लिग क्लब लेस्टर सिटीले वाटफोर्डलाई ४–१ ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको हो।

क्याम्ब्रिजको मैदानमा आतिथ्य गरेको न्युक्यासल युनाइटेडले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो। दोस्रो हाफमा फरक रणनीतिका साथ आक्रामक रूपमा प्रस्तुत भएको न्युक्यासल काउन्टरमा अगाडि बढेको मौकामा क्याम्ब्रिजले अग्रता निकालेको थियो। ५५औं मिनेटमा जो आइरोनसाइडले आकर्षक गोल गर्दै अग्रता दिलाएको नतिजा नै जितका लागि पर्याप्त भएको थियो।

उता घरेलु मैदानमा चेल्सीले लिग टुको टोली उतारे पनि चेस्टरफिल्डमाथि ५–१ को फराकिलो जित निकाल्ने क्रममा टिमो वेर्नेर, कलुम हड्सन ओडोई, रोमेलु लुकाकु, एन्ड्रिएस क्रिस्टेन्सेन र हाकिम जियाचले गोल गरे। चेस्टरफिल्डका एकवासी एसान्टेले सान्त्वना गोल फर्काए। गोलको वर्षा भएको खेलको छैटौं मिनेटमा टिमो वेर्नेरको गोलबाट घरेलु टोली चेल्सीले सुरुआती अग्रता लिएको थियो। १८औं मिनेटमा कलुम हड्सन ओडोईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे।

२०औं मिनेटमा रोमेलु लुकाकुले तथा ३९औं मिनेटमा एन्ड्रिएस क्रिस्टेन्सेनले गोल गरेपछि चेल्सी पहिलो हाफमै बलियो भएको थियो। पहिलो हाफमा लिएको अग्रतासँगै उच्च मनबोलका साथ खेलेको चेल्सीका लागि ५५औं मिनेटमा हाकिम जियाचले गोल गर्दै अग्रता ५–० ले अघि बढाए। ८०औं मिनेटमा एकवासी एसान्टेले एक गोल फर्काए पनि टोलीले हार टार्न सकेन। चेल्सी सानदार जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो।

अर्को खेलमा लेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्द्वी वाटफोर्डलाई ४–१ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाउँदा युरी टिलेमान्स, जेम्स म्याडिसन, हार्भे बार्नेस र मार्क अल्ब्राइटनको नाममा एक/एक गोल रह्यो।

वाटफोर्डका जोओ पेड्रोले एक गोल फर्काए। घरेलु मैदानमा एकतर्फी जस्तो देखिएको खेलमा युरी टिलेमान्सले सातौं मिनेटमा पेनाल्टीबाट गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए।

खेलको २५औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई २–० को अग्रता दिलाउँदा २७औं मिनेटमा पेड्रोले गोल गर्दै वाटफोर्डलाई २–१ को स्थितिमा ल्याए। खेलको ५४औं मिनेटमा हार्भे बार्नेसले गोल गर्दै लेस्टरलाई ३–१ को अग्रता दिलाउँदा ८५औं मिनेटमा मार्क अल्ब्राइटनले गोल गर्दै लेस्टरलाई ४–१ को जित निश्चित गराए।

यस्तै क्रिस्टल प्यालेस, ब्रेन्टफर्ड, ब्राइटन, एभर्टन र साउथह्याम्पटनले पनि चौथो चरणमा स्थान पक्का गरेका छन्। अन्य खेलमा किडरमिनिस्टर र बारेहमले आआफ्ना प्रतिद्वन्द्वीमाथि जित निकाल्दै चौथो चरणमा स्थान बनाएका छन्।

प्रकाशित: २६ पुस २०७८ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App