७ वैशाख २०८१ शुक्रबार
खेल

मच्छिन्द्रको एएफसी कप लक्ष्य पूरा

गत सिजन (२०७६) मच्छिन्द्र क्लब त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलमा लिग च्याम्पियन बन्यो। स्वाभाविक थियो, मच्छिन्द्रले नेपाली लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने।

तर एएफसीले प्रतियोगिता खेल्न एएफसी क्लब लाइसेन्स अनिवार्य हुनुपर्ने नियम लागू गरेपछि मच्छिन्द्र लिग च्याम्पियन हुँदाहुँदै पनि प्रतियोगिता खेल्नबाट वञ्चित भयो। यता क्लब लाइसेन्स प्राप्त गरेको एक मात्र नेपाली शीर्ष डिभिजनको क्लब आर्मीलाई उपविजेता भएता पनि एएफसी कप खेल्ने सौभाग्य जुर्‍यो।

गत वर्ष चैत २५ गते आर्मी क्लबले त्रिपुरेश्वरपस्थित दशरथ रंगशालामा श्रीलंका पुलिसलाई आतिथ्य प्रदान गर्‍यो। सो खेल हेर्न मच्छिन्द्रका खेलाडी पनि रंगशालामा उपस्थित थिए। आर्मी र श्रीलंका पुलिसबीचको खेल हेर्न रंगशालामा उपस्थित भएका मिडफिल्डर, त्यो पललाई खेल जीवनकै एक पीडादायी क्षणका रूपमा सम्झन्छन्।

‘हामी लिग च्याम्पियन थियौं, तर क्लब लाइसेन्स नभएकाले हामीले प्रतियोगिता खेल्ने अवसर गुमायौं,’ सुजलले आइतबार सातौं चरणको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एएफसी कप छनोट खेल्ने पक्का भएपछि भने, ‘पीडा थियो, हामी विजेता खेलाडी दर्शकदीर्घामा थियौं, उपविजेताले मैदानमा खेलिरहेको थियो। हाम्रो एएफसी कप खेल्ने लक्ष्यमा क्लब लाइसेन्स बाधक बन्यो।’ ‘सायद भगवान्ले पनि यस पटक हामीलाई साथ दिनुभयो जस्तो लाग्छ,’ सुजल भन्छन्, ‘हामी नेपालको प्रतिनिधित्व गर्दै छौं, त्यसैले योभन्दा धेरै सुधारिएको प्रदर्शन गर्छौं।’

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातांै चरणको खेल समाप्तिमा शीर्ष स्थानमा बस्ने एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने क्लबले नेपाली लिग च्याम्पियनको हैसियतमा एएफसी कप छनोट खेल्ने जनाइसकेको थियो।

पुलिसविरुद्धको खेलअघि मच्छिन्द्र १४ अंकसहित दोस्रो स्थानमा थियो भने एक खेल बढी खेलेको मनाङ मर्स्याङदी क्लब १६ अंकसहित शीर्ष स्थानमा थियो। त्यसैले मच्छिन्द्रलाई पुलिसविरुद्ध तीन अंकको विकल्प थिएन।

२१औं मिनेटमा सुनील बलले विशाल राईको फ्रिकिकमा गरेको हेडर गोल मच्छिन्द्रका लागि गत सिजनको पीडा भुलाउँदै यस सिजन एएएफसी कपको टिकट पक्का गर्न पर्याप्त बन्यो।

मच्छिन्द्र १७ अंकसहित शीर्ष स्थानमा उक्लिँदा समान खेलमा १६ अंक जोडेको मनाङ दोस्रो स्थानमा रह्यो। तेस्रो स्थानको संकटाको १३ अंक छ भने चौथो स्थानको आर्मीको ११ र पाँचौं स्थानको थ्री स्टार क्लबको १० अंक रहेको छ। 

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले दबाबमा रहे पनि टोलीले पहिलो हाफमै गोल निकाल्दा तीन अंक ल्याउन सम्भव भएको प्रतिक्रिया दिए।

‘मनाङले शनिबार ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएपछि हामीमाथि दबाब थपिएको थियो,’ कटुवालले भने, ‘हामीले दबाब चिर्र्दै शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल्ने लक्ष्य पूरा भयो। हामी एएफसी कपमा उत्कृष्ट प्रदर्शन गर्दै समूह चरण पार गर्न चाहन्छौं। त्यसका लागि टोलीमा केही विदेशी खेलाडी थप गर्दै बलियो टोली निर्माण गर्छौं।’

यता पुलिसका प्रशिक्षक अनन्त थापाले साबिक विजेता मच्छिन्द्रविरुद्ध टोलीले नतिजा नल्याए पनि उनीहरूविरुद्ध गरेको उच्च प्रदर्शनबाट भने सन्तुष्ट रहेको बताए।

प्रकाशित: १९ पुस २०७८ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App