६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कर्णाली सरकारले सुनमायालाई दुई लाख र कामनालाई ५० हजार पुरस्कार दिने

कर्णाली प्रदेश सरकारले हालै थाइल्याण्डमा भएको एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई दुई लाख र बंगलादेशको राजधानी ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिवल प्रतियोगीताको उपाधि नेपाललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेकी जाजरकोटकी कामना विष्टलाई ५० हजार रुपैयाँले प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको छ।

आइतबार मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा बसेको प्रदेश खेलकुद परिषद्को बैठकले कर्णालीबाट अल्ट्राट्रेलरेसमा सहभागी जुम्लाकी बुढा र भलिबल उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी जाजरकोटकी विष्टलाई प्रोत्साहन पुरस्कार दिने निर्णय गरेको हो।

सुनमायाले एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम भएकी थिइन् भने कामना नेपाल प्रहरी क्लबबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कवर्डहल निर्माण गर्ने भएको छ। नेपालमा अहिलेसम्म अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कवर्डहल छैन। हालै बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेर आएको महिला राष्ट्रिय भलिवल टोलीले नेपालमा कवर्ड हल नहुँदा प्रतियोगिताको तयारीमा समस्या भएको बताएका थिए।

‘नेपालमै अहिलेसम्म भलिबल खेलका लागि अन्तर्राष्ट्रिय मापदण्डको कवर्ड हल नभएको जानकारीमा आएपछि कर्णाली प्रदेश सरकारले बन्दै गरेको प्रदेश गौरवको रंगशालामा कवर्ड हल निर्माण गर्ने निर्णय गरेको छ,’ मुख्यमन्त्री जीवनबहादुर शाहीले भने, ‘त्यसका लागि अहिलेको बन्दै गरेको रंगशालाको संरचनालाई परिमार्जन गर्न प्रदेश खेलकुद परिषद्लाई निर्देशन दिएको छु।’

परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको भलिबल कभर्डहल नभएकाले कर्णालीमा पहिलो पटक बनाउन लागिएको जानकारी दिए। ‘मुख्यमन्त्रीज्यूले अहिले भन्दै गरेको प्रदेश गौरवको प्रदेश रंगशालाको संरचनालाई परिमार्जन गरेर काम अघाडि बढाउन निर्देशन दिनु भएको छ,’ सदस्य–सचिव सञ्ज्यालले भने, ‘प्रदेश रंगशालामा अब अन्र्तराष्ट्रिय मापदण्डको भलिबलको कवर्डहल निर्माण सुरु हुन्छ।’ उनले एक हजार ५०० दर्शक क्षमता भएको कभर्डहल र बाहिर दुई वटा भलिबल कोर्ट निर्माणका लागि डिजाइन स्टिमेट गरिने बताए।

प्रकाशित: १८ पुस २०७८ ०९:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App