२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

उद्घाटन खेलमा गोधुली र न्यू स्टार क्लव विजयी

इटहरीमा बिहीबारबाट सुरु भएको सुनसरी जिल्ला स्तरीय ‘ए’ डिभिजन जिल्ला लिग कम नकआउट फुटबलको उद्घाटन खेलमा गोधुली क्लब र न्यूस्टार क्लबले बिजयी सुरुवात गरेका छन्।

इटहरी वडा नं. ९ को क्षेत्रीय रंगशालामा भएको पहिलो खेलमा धरानको गोधुली क्लबले दुहवीको एलेभेन एरोज क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो। गोधुलीलाई विजयी बनाउने क्रममा सुशिल राईले दोस्रो हाफको २३ औं र दिपक गिरीले ३९ औं मिनेटमा एक–एक गोल गरे। खेलको म्यान अफ दि म्याच विजयी टिम गोधुलीका सबिन राई भए । उनले नगद १ हजार ५ सय रुपैयाँ पाए।

दोस्रो खेलमा न्यूस्टार क्लब वराहक्षेत्रले दुहवीकै गोल्डेन स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ। न्यू स्टारको जीतमा सुजित राइले दोस्रो हाफको २८ औं मिनेटमा निर्णायक एक गोल गरे। उक्त खेलको म्यान अफ दि म्याच न्यू स्टारका सन्तोष श्रेष्ठ घोषित भए। उनले पनि नगद एक हजार पाँच सय रुपैयाँ नै पाए।

शुक्रबारको पहिलो खेल धरानको टेम्के क्लब र इटहरी फुटबल क्लबबीच हुनेछ। यस्तै दोस्रो खेल राष्ट्रिय जागृति क्लब इटहरी र धरान फूटबल क्लबबीच हुने आयोजकले जनाएको छ।

अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको ‘ए’ डिभिजन जिल्ला लिगमा सुनसरीका आठ टिमको सहभागिता रहेको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए। इटहरी रंगशालामा १० दिनसम्म चल्ने प्रतियोगितामा सहभागी आठ टिमलाइ दुई समूहमा विभाजित गरिएको छ।

समूह ‘क’ मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन्। यस्तै, समूह ‘ख’ मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन भने इटहरीका राष्ट्रिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ।

१७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ। यस्तै, उपबिजेता टिमले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

प्रकाशित: १५ पुस २०७८ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App