१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

माघमा सर्‍यो देउराली कप कराते

दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी माघ हुने गरी सरेको छ।

नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनामा हुने प्रतियोगिता पुस ९ र १० गतेका लागि तय थियो। यद्यपि, प्राविधिक कारणले प्रतियोगिता सार्नुपरेको डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए। अब नयाँ मितिमा आगामी माघ ९ र १० गते प्रतियोगिता हुनेछ।

डोजोको स्थापना कालदेखि नै सहयोगका साथै विभिन्न माध्यमबाट स्थानीय क्षेत्रमा योगदान पुर्‍याउँदै आएका भीम चन्द ठकुरीको स्मृतिमा प्रतियोगिताको दोस्रो संस्करण हुँदै छ। भीम चन्द ठकुरीकै सक्रियतामा डोजोको स्थापनासमेत भएको थियो। उनी सहिद दशरथ चन्दका भतिजासमेत हुन्। उक्त प्रतियोगिता नयाँ बानेश्वरस्थित भीमसेनगोला माध्यमिक विद्यालयमा हुनेछ। प्रतियोगितामा फाइट र काता गरी कुल २५ स्वर्ण पदकका लागि खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्।

 काता अन्तर्गत टिम र व्यक्तिगततर्फ (महिला र पुरुष) प्रतिस्पर्धा हुनेछन्। पुरुष फाइटमा २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमाथि तौलसमूहसम्म प्रतिस्पर्धा हुनेछन्। महिलातर्फ २० केजी, २५ केजीमुनि, ३० केजी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६१ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्र्धा गर्दै छन्। प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै टिम च्याम्पियनको ट्रफी प्राप्त गर्नेछ। त्यसै गरी दोस्रो र तेस्रोले पनि नगद पुरस्कार र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

सोही प्रतियोगिताको उद्घाटनका अवसरमा श्रष्टा सम्मान पनि गरिने डोजोका अध्यक्ष जोशीले बताए। डोजोको स्थापनाकालदेखि सहयोग पुर्‍याएका र विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्थानीय व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: १० पुस २०७८ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App