६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः सेमिफाइनल समिकरण पूरा

सुदूरपश्चिम अन्तिम चारमा पुग्दा एपिएफ समूह विजेता

धनगढीमा पुस ३ गतेदेखि जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।

समूह बी अन्तर्गत बिहीबार लिग चरणका सबै खेल सम्पन्न भएका हुन्। समूह बी बाट विभागीय टिम समूह विजेता बन्दै सेमिफाइनल पुग्दा समूह उपविजेता भएर घरेलु टोली सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको छ। समूह ए बाट समूह विजेता बन्दै प्रदेश १ र उपविजेता बन्दै लुम्बिनी प्रदेश सेमिफाइनल पुगिसकेका छन्।

बिहीबार भएका खेलमा सुदूरपश्चिम र एपिएफ विजयी भएका छन्। पहिलो खेलमा जित हात पार्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको छ। समूह बी अन्तर्गतको खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश २ लाई ८७ रनले हराएको हो। पहिलो खेलमा जितेको सुदूरपश्चिमले दोस्रो खेलमा एपिएफसँग हार व्यहोरेको थियो। तीन खेलमा दुईमा जित र एकमा हारसहित चार अंक जोडेको सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाउन सफल भयो। टस हारेर सुदूरपश्चिमले पहिले व्याटिङ गर्दै २० ओभरमा ५ विकेट क्षतिमा १४३ रन बनायो। सुदूरपश्चिमका लागि विन्दु रावलले अर्द्धशतकीय पारीसहित ५० रन बनाइन्। त्यस्तै रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाइन्।

प्रदेश २ का लागि विमला मगरले २ विकेट लिइन्। त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक÷एक विकेट लिइन्। १४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ५६ रन मात्रै बनाउन सक्यो। प्रदेश २ ले २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाएको हो। प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाइन्। अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २ विकेट लिइन्। ईश्वरी विष्टले १ विकेट लिइन्। सुदूरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भइन्।

यस्तै दोस्रो खेलमा एपिएफले अपराजित यात्रा कायम राख्दै समूह विजेता बनेको छ। एपिएफले गण्डकी प्रदेशलाई एक सय १७ रनले हराएको हो। टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा एक सय ५० रन बनायो। सो पारीमा मध्यक्रमकी खेलाडी ममता चौधरीले ४३ रन बनाइन्। त्यस्तै सरिता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाइन्। ज्योति पाण्डेयले २४ रन जोडिन्। गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले एक विकेट लिइन्। एपिएफका ३ जना खेलाडी रनआउट भए।

एक सय ५१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३३ रन मात्रै बनायो। २० ओभरमा ७ विकेट गुमाएर ३३ रन बनाउँदा गण्डकीका लागि शीला क्षेत्रीले सर्वाधिक ८ रन बनाइन्। अन्य खेलाडीले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा १३ रन अतिरिक्त प्राप्त भयो। एपिएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २ विकेट लिइन्।

सोनु खड्का, सुमन बिष्ट र सीता रानामगरले समान १ विकेट लिए। खेलमा एपिएफकी ममता चौधरी प्लेयर अफ म्याच भइन्। प्रतियोगिता अन्तर्गत शुक्रबार विश्राम दिइएको छ। शनिबार सेमिफाइनल र आइतबार फाइनलका खेल हुनेछन्।

प्रकाशित: ८ पुस २०७८ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App