काठमाडौं– बालुवाटार क्रिकेट क्लब एवं ट्रेनिङ सेन्टरद्वारा आयोजित क्रिकेट कार्निभलमा नेपाली टोलीका विकेटकिपर/ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल लोभिए। कार्निभलमा यु–१२ र यु–१५ उमेर समूहका खेलाडी थिए। त्यसमा केही १० वर्षमुनिका पनि थिए। सुवास आयोजकसँग भन्दै थिए, 'हामीले कहिल्यै यो उमेरमा खेल्न पाएनौं।'
सुवाससँगै राष्ट्रिय टोलीका खेलाडी पृथु बाँस्कोटा र नरेश बुढाएर अतिथि बनेर कार्निभलमा पुगेका थिए। उनीहरूले कलिला खेलाडीहरूसँग भलाकुसारी गरे, अनुभव साटे।सुवास र पृथु दुवै बालुवाटारका खेलाडी हुन्। सुवासले यही एक प्रश्न सामना गर्नुपर्यो। किशोर खेलाडीले सुवाससँग सोधे, 'तपाईले कति वर्षमा खेल्न थाग्नुभएको हो?' सुवासले भने, 'तिमीहरू भाग्यमानी छौं १०–१२ कै उमेरमा ब्याट समात्न पाएका छौं, खेल्न पाएका छौं। मैले १५–१६ पुगेपछि मात्र खेल्न सुरु गरेको थिएँ।'
पछिल्लो समय १०–१२ वर्षका किशोर खेलाडीलक्षित गरेर कार्यक्रम ल्याउन नसक्नु नेपाली क्रिकेटको कमजोरीमा देखिँदै आएको छ। ती खेलाडीको प्रश्न नेपाली क्रिकेटको वर्तमानप्रति लक्षित गरेजस्तो थियो। उमेर समूहमा एकैपल्ट यु–१६ मा खेल्ने हुनाले नेपालले त्यसकै तयारीमा मात्र राष्ट्रिय प्रतियोगिता गर्छ।
नेपाल क्रिकेट संघले आयोजना गर्ने विद्यालय स्तरको प्रतियोगिताले तल्लो उमेर समूहका प्रतियोगिता अझै समेट्न नसकेको आरोप छ।
पछिल्लो १ वर्षदेखि बालुवाटारमा प्रशिक्षण दिँदै आएका सुनील (शेरबहादुर) लामाले ग्रास रुट क्रिकेट विकासलाई लक्ष्य गरेर कार्यक्रम ल्याएको बताए। 'हाम्रो सानो प्रयासमात्र हो, नेपाली क्रिकेटमा आधारभूत प्रशिक्षण सिकाउन जरुरी छ, तब मात्र क्लबमा राम्रा खेलाडी आउन सक्छन्,' हङकङका पूर्वखेलाडी एवं उमेर समूहका प्रशिक्षक लामाले भने, 'त्यसपछि उनीहरूलाई थप एक्सपोजर दिँदै जानुपर्छ।'
शनिबार सम्पन्न कार्निभलका अर्का किशोरलाई जवाफ दिन सुवासलाई ठूलै स्वास लिनुपर्यो। जुन प्रश्नले नेपाली क्रिकेटको वर्तमान चित्र इंगित गर्थ्यो। 'मेरो स्कुलले खेल्दा पनि खेल्दैन, मेरो क्लब पनि छैन अनि म कहाँ गएर खेलुँ त?,' यो प्रश्नमा सुवास एकछिन घोरिए। सुवासले अहिले थुप्रै एकेडेमी खुलेको बताउँदै कीर्तिपुरमा चलिरहेको नेसनल क्रिकेट एकेडेमीबाट खेल्न सकिने भनेर बताए।
बालुवाटारले १ वर्षदेखि झन्डै २ सय खेलाडीलाई विदाको दिन प्रशिक्षण दिने गरेको छ। त्यसमा यु–१२ र यु–१५ मा ७० खेलाडी थिए। यु–१२ मा ६ र यु–१५ मा ४ टोली बनाएर खेलाइएको जानकारी गराइयो। ८–८ खेलाडी गरेर खेलाइएको यु–१५ टोलीको नाम ब्रेडम्यान, तेन्दुलकर, गावस्कर र लारा राखिएको थियो।
लामासँगै रिकेश लामा, रितेश सिंह, सुमन उदय, विजय गौतम, इन्द्रकमल मानन्धर र राजु थापाले खेलाडीलाई प्रशिक्षित गराएका थिए।
विजयी खेलाडीलाई बालुवाटार क्रिकेटका अध्यक्ष एवं नेपाल क्रिकेट संघका पूर्वउपाध्यक्ष उपेन्द्रप्रसाद भट्टराई र सचिव तारकमणि दीक्षितले पुरस्कृत गरे।
कार्निभल समापनमा सुवाससँगै पृथु र नरेश किशोर खेलाडीका लागि मुख्य आकर्षण बने। तर उनीहरूको प्रश्नले तीनै खेलाडीलाई छाडेको थिएन। सुवासलाई अर्का एक खेलाडीको प्रश्न थियो 'तपाई ९९ रनमा खेलिरहनुभएको छ, कप्तान पारस खड्काले इनिङ्स समाप्तिको घोषणा गर्नुभयो भने के गर्नुहुन्छ?' उनी अनुत्तरित बने।
प्रकाशित: १३ मंसिर २०७१ ०९:०७ शनिबार