१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: लुम्बिनी र प्रदेश–१ सेमिफाइनलमा

लुम्बिनी प्रदेश र प्रदेश–१ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

समूह ‘ए’ का आफ्ना दुवै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश–१ अन्तिम चारमा पुगेका हुन्। पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशमाथि १० विकेटको जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ६ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाउँदै १८ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जुन लक्ष्य लुम्बिनीले ३.१ ओभरमा बिनाविकेट पूरा गर्दै सेमिफाइनलमा स्थान बनायो। लुम्बिनीका लक्ष्मी चौधरीले १२ रन र नेरी थापाले ५ रन बनाए।

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दीक्षा पुरीले नटआउट ७ रन बनाइन्। लुम्बिनीका सुस्मिता भुषालले दुई र नेरी थापाले एक विकेट लिए। सुस्मिता प्लेयर अफ दी म्याच भइन्। कर्णाली यसअघि प्रदेश–१ सँग ६ रनमै अलआउट भएको थियो। दोस्रो खेलमा बाग्मती प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश–१ पनि सेमिफाइनलमा पुग्यो। टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १ सय १४ रन बनायो।

१ सय १५ रनको विजय लक्ष्य पछ्याएको बाग्मती निर्धारित ओभर नै खेले पनि आठ विकेट गुमाउँदै ५९ रनमा समेटियो। बाग्मतीका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्कासहित २१ रनको इनिङ खेले पनि आफ्नो टोलीलाई जिताउन सकिनन्। कप्तान अस्मिना कर्माचार्यले १० रनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बाग्मतीका पाँच खेलाडी रनआउट भए। कप्तान रुविना क्षेत्री, ज्योति दनवार र अलिशा खडियाले १/१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको प्रदेश–१ ले निकै खराब सुरुआत गर्दा ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुविना क्षेत्रीलाई सस्तैमा गुमायो।

बाग्मतीकी कप्तान अस्मिनाले काजललाई शून्यमा र रुविनालाई १ रनमै पवेलियन फर्काइन्। त्यससँगै २.३ ओभरमा ६ रन जोड्दा प्रदेश–१ ले दुई विकेट गुमाए पनि अप्सरीले इनिङ समालिन्। ६२ बलको सामना गरेकी अप्सरी ५१ रनमा नटआउट रहिन्।

त्यस्तै स्मृति कटुवालले २० रन बनाउँदा तीव्र गतिका बलर सबनम राईले १५ रनको योगदान दिँदै प्रदेश–१ को इनिङ उकास्न मद्दत गरिन्। बाग्मतीका अस्मिना कर्माचार्य र खुसी डंगोलले २/२ विकेट लिए। प्रदेश–१ की अप्सरी प्लेयर अफ द म्याच भइन्।

प्रकाशित: ५ पुस २०७८ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App