१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिगः राजधानीबाहिर इतिहास बनाउँदै पोखरा

शनिबार मनाङ र पुलिस भीड्दै

मनाङ र पुलिस क्लवबीच शनिबार हुने खेलको प्रि–म्याच कन्फरेन्समा दुबै टिमका कप्तान र प्रशिक्षक। तस्बिरः उमेश पुन/नागरिक

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले शनिबार एउटा इतिहास रच्दैछ। २०११ सालदेखि शुरु भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताले ६७ वर्षपछि काठमाडौं बाहिर पहिलोपटक पोखरामा लिगको खेल शुरु गरेर नयाँ इतिहास रच्न लागेको हो।

लिगको पाँचौं चरण अन्तर्गत शनिबार पोखरामा लिगको शीर्ष स्थानमा रहेको मनाङमर्स्याङ्दी र नेपाल पुलिस क्लव आमनेसामने हुनेछन्। खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ।

मनाङले होमग्राउण्ड बनाएको पोखरा रंगशालामा हुने खेलका लागि दुबै टिम तयारी अवस्थामा छन्। विहीबार नै पोखरा आएको दुबै टिमले शनिबारको खेल जित्ने दाबी गरेका छन्। शनिबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै दुबै टीमका प्रशिक्षकले काठमाडौंबाहिर इतिहासमै पहिलोपटक हुन लागेको लिगको खेल जितेर इतिहास आफ्नो पक्षमा लेखाउने बताए।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु मैदानमा जित निकालेर मनाङले आफू बलियो रहेको सन्देश दिने बताए। ‘मनाङ निराश भएर फर्किदैन, हामी जितेरै छाड्छौं,’ उनले भने। होमग्राउण्ड र दर्शकको सपोर्टले आफूहरुलाई फाईदा पुग्ने उनको दाबी छ। उनले भने, ‘प्लान पनि बनाएका छौं, खेलाडी पनि उच्च मनोबल लिएर आएका छन्, सबैकुरा ठीक छ, त्यसैले त हामी जित्छौं।’

विभागीय नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्त थापाले ऐतिहासिक खेलमा जित निकाल्न पुलिस आतुर रहेको बताए। ‘मनाङसँगको खेल सँधै चुनौतिपूर्ण नै हुन्छ,’ उनले भने, ‘तर हाम्रो एकमात्र अर्जुनदृष्टि जितमै हुनेछ।’ मनाङलाई सशक्त विपक्षी टिमको रुपमा व्याख्या गर्दै उनले भने, ‘तर हामीले तयारी राम्रो गरेका छौं, दर्शकले पनि हामीलाई सपोर्ट नै गर्नुहुन्छ भन्ने विश्वास छ, त्यसैले जित निस्कनेमा हामी ढुक्क छौं।’

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ६७ वर्षे इतिहासमा ३८ औं संस्करण सम्पन्न भएका छन। यो ३९ औं संकरणमा काठमाडौंबाहिर पहिलोपटक पोखरामा खेल हुन लागेको हो। लिग खेलिरहेको मनाङमर्स्याङ्दी क्लवले पोखरा रंगशालालाई आफ्नो गृह मैदान (होम ग्राउण्ड) बनाएपछि पोखराले यस्तो अवसर प्राप्त गरेको हो।

लिग अन्तर्गत पाँचौं चरणको खेलमा मनाङले शनिबार पुलिसँग प्रतिस्पर्धा गर्दैछ भने सातौं चरण अन्तर्गतको पुस १७ गते मनाङले काठमाडौंको ब्रिगेड ब्वाईज र आठौं चरण अन्तर्गतको पुस २४ गते काठमाडौंकै च्यासल क्लवसँगको खेलपनि पोखरा रंगशालामै हुने एन्फाले जनाएको छ।

मनाङमस्र्याङ्दीले होम ग्राउण्ड रोजेपनि पोखरा रंगशालामा हुन लागेको खेल ‘होम एण्ड अवे’ अन्तर्गतको भने होइन। किनभने अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘होम एण्ड अवे’का आधारमा खेलाउन थालिसकेको छैन। ‘होम एण्ड अवे’का आधारमा खेलाउन सबै टीमको होम ग्राउण्ड हुनुपर्छ तर अहिलेसम्म न त लिग खेलिरहेका क्लवहरुले होम ग्राउण्ड बनाएका छन् न एन्फाले नै त्यसरी खेलाउने तयारी गरेको छ।

सहिद स्मारक ए डिभिजन लिग निर्देशक सञ्जीव मिश्र भन्छन्, ‘मनाङमर्स्याङ्दीले पोखरा रंगशालालाई होम ग्राउण्ड बनाएको त हो, तर अहिले हुन गइरहेको खेल ‘होम एण्ड अवे’ अन्तर्गतको भन्न मिल्दैन । किनकी हामी त्यो फर्म्याटमा गइसकेका छैनौं।’ 

प्रकाशित: २ पुस २०७८ १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App