काठमाडौं– नेपाली क्रिकेटका लागि श्रीलंका पानीपँधेरो जस्तै हो। अधिकांश मुख्य प्रतियोगिता खेल्नुअघि नेपालको तयारी श्रीलंकामै हुन्छ। त्यही श्रीलंकामा नेपालले आफ्नो क्रिकेट इतिहासकै पहिलो शृंखला खेल्दै छ।
श्रीलंका भ्रमणमा स्थानीय टोलीसँग दुई तीनदिवसीय खेल खेलिसकेको नेपालले अब हङकङसँग बुधबार, बिहीबार र शनिबार गरी तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ। त्यसपछि यी दुई टोलीले एक ५० ओभरको खेल खेल्ने छ।
नेपालले अर्को राष्ट्रसँग पहिलोपटक शृंखला खेल्न यो अवसर एसियाली क्रिकेट परिषद (एसिसी)ले जुराइ दिएको हो। एसिसीको पूर्ण खर्चमा श्रीलंका क्रिकेटको स्वीकृतिपछि नेपाल र हङकङले श्रीलंकामा हाइपर्फोमेन्स भ्रमणमा खेलिरहेको हो। १५ वर्षको अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यसअघि प्रतियोगिताहरू खेले पनि कुनै अर्को देशसँग आधिकारिक शृंखला खेलेको थिएन।
मार्चमा बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल र हङकङ ट्वान्टी–२० मै पहिलोपटक भिडन लागेका हुन्। विश्वकपमा गरेको प्रदर्शनकै आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदले जुन २८ मा अक्टोबर १ बाट लागू हुने गरी नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो। सोही कारण अहिले नेपाल र हङकङ आमने सामने भएका हुन्।
नेपालले यस वर्ष श्रीलंकामा गएर खेलिरहेकोे यो चौथोपटक हो। न्युजिल्यान्डमा एकदिवसीय विश्वकप छनोट, मलेसियामा एसिसी प्रिमियर लिग र विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीका लागि नेपालले तयारी श्रीलंकामा गरेको थियो।
हङकङको कथा पनि उस्तै छ। पछिल्लोपटक हङकङ एसियाली खेलकुदको तयारीका क्रममा श्रीलंका आएको थियो। टोलीले सो क्रममा च्याम्पियन्स लिगको अस्ट्रेलियन टोली हुरिकन होबार्टसँग अभ्यास खेल नै खेलेको थियो। पछिल्लो समय एसोसिएट राष्ट्रको मुख्य प्रतियोगिताअगाडि तयारीका लागि श्रीलंका ‘हब' नै बनिसकेको छ।
अस्ट्रेलियामा विशेष प्रशिक्षण लिएर हङकङ टोली नेपालसँग खेल्न दम्बुला पुगेको हो। टोलीले अस्ट्रेलिया भ्रमणमा पपुवा न्युगिनीसँग २ एकदिवसीय अन्तर्राष्ट्रिय र १ तीनदिवसीय खेल खेलेको थियो। अस्ट्रेलियाबाट आएको हुनाले हङकङ राम्रो लयमा भएको नेपालका प्रशिक्षक पुबुदु दासानायकेले बताए।
नेपालले यसअघि खेलेका सबै ट्वान्टी–२० अन्तर्राष्ट्रिय बंगलादेश विश्वकपमा थियो, जहाँ नेपालले हङकङलाई ८० रनले र अफगानिस्तानमाथि ९ रनको विजय हात पारेको थियो भने बंगलादेशसँग ८ विकेटले पराजित भएको थियो। अफगानिस्तानलाई विजय दिलाउन प्रमुख भूमिका खेलेका शरद भेषावकर र जितेन्द्र मुखिया अस्वस्थताका कारण श्रीलंका भ्रमणमा छैनन्।
‘हामीले शरदलाई निश्चय पनि गुमाइरहेका छौं, तर भ्रमणमा नेपाल राम्रो आकारमा आइसकेको छ,' हङकङसँगको खेलमा राम्रो नतिजाको आशा गर्दै दासानायकेले भने।
श्रीलंका भ्रमणमा खेलिएको दुई तीनदिवसीय खेलमा नयाँ खेलाडीहरु राजेश पुलामी र करण घिमिरेले निकै राम्रो गरेका थिए। राजेशले कुरुनेगालाविरुद्ध पहिलो खेलमा ९५ र श्रीलंकाका कम्बाइन ११ सँगको दोस्रो खेलमा अविजित ३६ रन बनाएका थिए। करणले कम्बाइन ११ सँग दोस्रो इनिङ्समा ५ विकेट लिएका थिए। दासानायकेले हङकङसँग करण खेल्ने बारेमा स्पष्ट खुलाएनन। ‘करणले राम्रो खेलिरहेका छन, आशा गरौं उनी डिभिजन २ सम्म तयार हुन्छन्।' नेपालले जनवरीमा नामिबियामा गएर डिभिजन २ मा खेल्दै छ।
नेपालले हङकङसँगको ट्वान्टी–२० अन्तर्राष्ट्रियलाई आइसिसी वरियतामा ध्यान दिएको दासानायकेले बताए। ८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेपछि मात्र आइसिसी वरियतामा प्रवेश पाउने प्रावधान छ। ‘विश्वकपमा पाएको सफलताले हाम्रो जित प्रतिशत ६६ भन्दा माथि छ, त्यसैले हङकङसँगको शृंखला महत्वपूर्ण छ,' दासानायकेले भने, ‘हामी यो विजय प्रतिशतलाई कायम राख्न चाहन्छौं। हङकङपछि क्रिकेट संघले थप यस्तै भ्रमणको आयोजना गरेमा हाम्रो आइसिसी वरियतामा विजय प्रतिशतमाथि हुनेछ।'
पहिलो खेल धरापमा
नेपाल र हङकङबीच दम्बुलामा हुने पहिलो खेल रद्द हुने स्थितिमा पुगेको छ। लगातार पानि परिरहेकाले खेल नहुने स्थितिमा पुगेको हो। मंगलबार साँझसम्म रानगिरी दम्बुला अन्तर्राष्ट्रिय रंगशाला वर्षाले भिजेको थियो।
पछिल्लो पाँच दिनदेखि दम्बुलामा पानी परिरहेको छ। पछिल्लो तीन दिन यो वर्षा निरन्तरजस्तो रहेको नेपाली टोलीले जनाएको छ। नेपाल आइतबार श्रीलंका कम्बाइन ११ सँगको खेलमा ६५ रनको विजय लक्ष्य पाउँदा भोजनपछि वर्षाले खेल हुन दिएको थिएन्। त्यसयता वर्षा जारी छ।
नेपाल र हङकङले पछिल्लो दुई दिनमै अभ्यास गर्न पाएको छैन्। दासानायकेले मंगलबार पनि वर्षाका कारण प्रशिक्षण गर्न नपाएको जनाए। हङकङ आइतबार श्रीलंका पुगेको थियो। खेल श्रीलंकाली समय अनुसार बुधबार बिहान १० बजे (नेपाली १०.१५) बजे सुरु हुने कार्यक्रम छ। तर मंगलबारको पछिल्लो स्थितिमा खेल भइहालेमा पनि ओभर छोटयाएर मात्र हुन सक्ने जनाइएको छ।
प्रकाशित: २ मंसिर २०७१ ११:१२ मंगलबार