सरकारको निर्णय अस्विकार गर्ने बताउँदै आएको निलम्बित क्यानको तर्फबाट उपाध्यक्ष केशव घिमिरे, कार्यवाहक महासचिव उत्तम कर्माचार्य, कार्यवाहक कोषाध्यक्ष दिवाकर घले तथा सदस्य सञ्जय सिंह र अमितवीर पाण्डे विमानस्थल पुगेका थिए।
दुई साताअघि यु–१९ टोली कुवेत लाग्दा निलम्बनमा परेको क्यानले बिदाइ गरेको थियो। त्यसको दुई दिनपछि सरकारले क्यानमा हस्तक्षेप गरेको हो। ‘वैधानिक क्यान पदाधिकारीले हामीलाई स्वागत गर्नुभयो,' व्यवस्थापक धीरेन्द्र साउदले सरकारले निलम्बन गरेको क्यानतर्फ इंगित गर्दै भने।
तदर्थ समितिका महासचिव सिलवालले आफूहरूले स्वागत र बधाई दिएको बताए। शुक्रबार युवा तथा खेलकुद मन्त्रालयबाट पत्र बुझेलगत्तै मुलपानी क्यानको कार्यालय गएर आफूहरूले कार्य सुरु गरेको दाबी सिलवालको छ। उक्त समयमा निलम्बनमा परेका क्यानका कोही पदाधिकारी कार्यालयमा थिएनन्।
क्यानको आधिकारिक इमेलबाट नयाँ तदर्थ समिति गठन भएको विज्ञप्ति आएको भोलिपल्ट निलम्बित क्यानले आफूहरू नै आधिकारिक रहेको र संघले मंसिर १२ मा साधारण सभा गर्न गइरहेको जनाएको थियो।
शुक्रबारपछि मुलपानी क्यान कार्यालय नगएको विषयमा सिलवालले भने, ‘हामीले आफ्नो हिसाबमा क्यानको कार्यालय चलाइरहेका छौं, सधंै मुलपानी नै पुग्नुपर्छ भन्ने छैन।' उनले १–२ दिनभित्र अन्तर्राष्ट्रिय मान्यता लिएर जानकारी गराइने बताए।
निलम्बितका कार्यवाहक महासचिव कर्माचार्यले पनि त्यस्तै दाबी गरे। ‘अहिलेसम्म हामीलाई नै अन्तर्राष्ट्रिय मान्यता छ। हामी पनि आफ्नो हिसाबले चलिरहेका छौं।' उनले सरकारको निर्णयविरुद्ध अदालत जाने निश्चित भइसकेको र त्यस विषयमा वकिलसँग परामर्श चलिरहेको जनाए।
प्रकाशित: १ मंसिर २०७१ २१:३६ सोमबार