२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफले अंकखाता खोल्यो

एपिएफ क्लबले चौथो खेलमा आएर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंंकखाता खोलेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको एक मात्र खेलमा एपिएफले थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोक्दै अंकखाता खोलेको थियो।

यसअघि लिगका ३ खेलमा एपिएफ जितविहीन बन्दै अन्तिम स्थानमा बसेको थियो। पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग इन्जुरी समयमा सम्हालिन नसक्दा ३–२ ले निराश भएको एपिएफ दोस्रो खेलमा भने च्यासल युथ क्लबसँग १–० ले निराश भएको थियो। पहिलो र दोस्रो रोजाइका गोलकिपरको चोटबाट थलिएको एपिएफ तेस्रो खेलमा सातदोबाटो युथ क्लबसँग ४–१ ले निरीह बनेको थियो।

४ खेलमा १ अंक जोडेको एपिएफ १३औं स्थानमा उक्लिएको हो। समान ४ खेलमा ५ अंक जोडेको थ्री स्टार भने सातौं स्थानमा छ। समान ४ खेलमा समान १० अंकका साथ साबिक विजेता मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब पहिलो र दोस्रो स्थानमा छन्। जारी लिगमा हालसम्म अंक खाता नखोल्ने जावलाखेल युथ क्लब एक मात्र टोली भएको छ।

एपिएफका प्रशिक्षक कुमार थापाले थ्री स्टारविरुद्ध आफूहरू जितको हकदार भए पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा ३ अंक जोड्ने अवसर गुमेको बताए।

‘हामीले चौथो खेलमा आएर अंक खाता खोलेका छौं,’ कुमारले भने,’ यसबाट म सन्तुष्ट छु। तर पनि हामी ३ अंकको हकदार थियौं, त्यो भने लिन सकेनौं। १ अंकबाट हामी एक स्थान माथि (१३औं स्थान) उक्लिएका छौं। आज ३ अंक जोडेको भए त्यसले टोली १०औं स्थानमा उक्लिने थियो। त्यसले टोलीमाथिको दबाब कम गर्ने थियो। आज दबाबमा भएर होला खेलाडीहरूले धेरै राम्रो खेले। हामीभन्दा माथि भएका टोलीको पनि २–३ अंक छ। त्यसैले पनि हामी धेरै दबाबमा छौं जस्तो लाग्दैन।’

कुमारले थ्री स्टारले आफ्नो स्तरअनुसारको प्रदर्शन गर्न नसकेको बताए। ११औं मिनेटमा आभास लामिछानेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले बचाएपछि एपिएफले अग्रता लिने अवसर गुमाएको थियो।

२९औं मिनेटमा मिडफिल्डर हेमन्त थापामगरको फ्रिकिकमा राफाइल रिमको हेडर बाहिरिँदा थ्री स्टारले अग्रता लिने अवसर खेर फाल्यो।

त्यसको एक मिनेटपछि नै एपिएफका आशिष लामाको फ्रिकिक थ्री स्टारका गोलकिपर प्रिसोले मुस्किलले जोगाएका थिए। ४२औं मिनेटमा हेमन्तको कर्नरलाई अनन्त तामाङले हेड गर्दा पोस्टको दिशा लिन सकेन।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा एपिएफले थ्री स्टारलाई दबाबमा राखेको थियो। ४९औं मिनेटमा कप्तान नवीन लामाको फ्रिकिकमा आशिषले गरेको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा एपिएफले अग्रता लिने अवसर गुमाएको थियो।

८०औं मिनेटमा एपिएफका प्रदीप लामाको पासमा आशिषले गरेको हेडर बाहिरिएको थियो। थ्री स्टारले च्यासलमाथि ३–० को जितका साथ लिगमा उत्कृष्ट सुरुआत गरे पनि पछिल्लो तीन खेलमा सुखद नतिजा ल्याएको छैन। थ्री स्टार  दोस्रो खेलमा सातदोबाटोसँग १–० ले स्तब्ध भएको थियो भने तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ को बराबरीमा रोकिँदै अंक बाँडेको थियो। थ्री स्टारका प्रशिक्षक रवीन्द्र सिख्राकारले टोलीले आक्रामक रणनीति लिए पनि त्यसअनुरूपको प्रदर्शन गर्न नसक्दा अंक बाँड्नुपरेको बताए।

‘हामीमाथि जित्नै पर्ने दबाब थियो, त्यसैले आक्रामक रणनीति लिएका थियाैँ,’ रवीन्द्रले भने, ‘तर खेलाडीले दबाबमा खेल्नै सकेनन्। एपिएफले धेरै राम्रो खेल्यो।’

लिगअन्तर्गत सोमबार पहिलो खेलमा नेपाल पुलिसले संकटासँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज आमनेसामने हुनेछन्।

प्रकाशित: २७ मंसिर २०७८ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App