२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मच्छिन्द्रको सहज जित

साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा जावलाखेल युथ क्लबविरुद्ध २–० को सहज जित निकाल्दा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रले सहज जित निकाल्ने क्रममा रञ्जित धिमालले एक गोल गर्दा जावलाखेलका सीमान्त थापाले एक गोल उपहार दिए। सुरुआतबाट नै दबाब दिएर जावलाखेलविरुद्ध खेलेको मच्छिन्द्रले १४औं मिनेटमा अग्रता पाएको थियो। मनीष डाँगीले दिएको बल छिरिङ गुरुङले क्रस गर्दा सीमान्तलाई लाग्दै गोलमा परिणत भएको थियो। त्यसपछि दबाबमा परेको जावलाखेलको खेल लरबराएको थियो।

२१औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो। डिफेन्डर रञ्जित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मच्छिन्द्रलाई २–० को अग्रता दिलाएका थिए। पेनाल्टी बक्सको दायाँ भागबाट प्रहार गरेको फ्रिकिक सोझै गोलमा परिणत हुँदा मच्छिन्द्रले पहिलो हाफमा २–० को अग्रता निकालेको थियो। दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि जावलाखेल युथ क्लबले गोलअन्तर घटाउन भने सकेन।

जितसँगै मच्छिन्द्र ३ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। पराजित जावलाखेलको यो लगातार तेस्रो हार हो। १३औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन। खेलबाट मच्छिन्द्रका रञ्जित धिमाल म्यान अफ दी म्याच चुनिएर नगद १० हजार रूपैयाँ थाप्दा इमर्जिङ प्लेयर जावलाखेलका सीमान्त थापा चुनिए।

लिगअन्तर्गत बुधबारै सम्पन्न दिनको दिनको पहिलो खेलमा विभागीय टोली पुलिसले पुनरागमनमा १–१ को बराबरी खेल्दै हिमालयन शेर्पा क्लबसँग अंक बाँड्यो। बलियो मानिएको पुलिसविरुद्ध हिमालयनले पहिलो मिनेटमा नै अग्रता लिँदा पुलिस दबाबमा परेको थियो। कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। मोइनुद्दीनको पासमा पेनाल्टी बक्सभन्दा बाहिरबाट विश्वासले प्रहार गरेको बल पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले रोक्ने क्रममा गोलमा परिणत हुँदा हिमालयनले सुरुआतमै अग्रताको अवसर पाएको थियो।

त्यसपछि दबाबमा परेको पुलिसका मानबहादुर परियारले १४औं मिनेटमा गोलको अवसर गुमाएका थिए। पहिलो हाफको बाँकी समयमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल देखाए पनि थप गोल भने हुन सकेको थिएन। पहिलो हाफको अग्रतालाई जोगाउन प्रयासरत हिमालयन शेर्पाविरुद्ध ४७औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अर्को सुन्दर अवसर गुमाए। पहिलो हाफमा भन्दा दोस्रो हाफमा आक्रामक खेलेको पु्लिसले  ६०औं मिनेटमा बराबरी गोल फर्कायो। सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए। रवि पासवानको क्रसमा सिक्स यार्ड बक्समा अनमार्क रहेका सुमनले सहजै गोल गर्दा पुलिसले खेल बराबरीमा ल्याउन सफल भएको थियो। त्यसपछि स्पष्ट अंकका लागि संघर्ष गरेको पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन र अंक बाँड्न बाध्य बन्यो।

त्यसअघि ६३औं मिनेटमा पुलिसका तेज तामाङको कर्नरमा अन्जन राईको उत्कृष्ट हेडर बल हिमालयन शेर्पाका डिफेन्डर जीवन गुरुङले गोललाइनबाट जोगाएका थिए भने ७४औं मिनेटमा अन्जनकै प्रहार हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले बचाउ गरेका थिए। सुरुआती अग्रता बनाएर पनि जित निकाल्न असफल भएपछि हिमालयन शेर्पाका मुख्य प्रशिक्षक युगलकिशोर राईले योजनाअनुसार खेल्न नसक्दा अंक बाँड्नुपरेको बताए।

‘हारजित आफ्नै ठाउँमा छ। पुलिसविरुद्ध जुन रणनीतिका साथ तयारी गरेका थियौं सोअनुसार खेलाडीले खेल्न सकेनन्,’ प्रशिक्षक युगलकिशोरले भने, ‘सामान्य गल्ती गर्दा हामीले दबाबमा पर्नुपर्‍यो। पुलिसले हाइ प्रेसिङ खेल खेलेको थियो। त्यो रणनीतिविरुद्ध हामीले ट्रेनिङ गरेका थियौं। अभ्यासअनुसार यहाँ खेलाडीको प्रदर्शन मैदानमा देखिएन।’

यता हिमालयन शेर्पासँग अंक खोसेको पुलिसका मुख्य प्रशिक्षक अनन्तराज थापाले स्पष्ट अंकका लागि खेले पनि सुरुआती अग्रताबाट दबाबमा पर्दा एक अंकमा चित्त बुझाउनुपरेको बताए।

‘यो सिजन सबै टोलीले प्रतिस्पर्धात्मक खेलेका छन्। अप्रत्याशित अग्रताले हामी अलि दबाबमा रहेर खेल्नुपर्‍यो,’ पुलिसका प्रशिक्षक थापाले भने, ‘लिगमा अंक जोड्नुपर्छ। एक अंक भए पनि तालिकामा जोड्न सकेका छौं। सँगै अपराजित यात्रालाई निरन्तरता दिएका छौं। तीन अंक आउन नसके पनि खाली हात फर्किनु परेन।’

यस बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ। पुलिस पाँचांै स्थानमा उक्लिएको छ। हिमालयन शेर्पाले ३ खेलमा २ अंक जोडेको छ। शेर्पा रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि लिगको १२औं स्थानमा छ। प्रतिस्पर्धात्मक खेलबाट म्यान अफ दी म्याच भएका हिमालयन शेर्पाका जीवन गुरुङले नगद १० हजार रूपैयाँ हात पार्दा पुलिसका अन्जन राई इमर्जिङ प्लेयर घोषित भए।

बुधबारको खेलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो चरणका खेल सकिएका छन्। नवप्रवेशी सातदोबाटो युथ क्लब ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान अंक भए पनि गोलअन्तरका आधारमा मच्छिन्द्र दोस्रो र मनाङ मर्स्याङ्दी तेस्रो स्थानमा छन्।

५ अंकका साथ संकटा चौथो स्थानमा रहँदा समान ५ अंक भएको पुलिस पाँचौं स्थानमा छ। तेस्रो चरणका खेल सकिँदासम्म विभागीय टोली एपिएफ र जावलाखेल युथ क्लबले तालिकामा अंकको खाता खोल्न सकेका छैनन्। 

प्रकाशित: २३ मंसिर २०७८ ०१:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App