१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

कुमार र जयरामको संयुक्त अग्रता

कुमार कामी र जयराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन सोमबार संयुक्त रूपमा अग्रता लिएका छन्।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा सोमबार कुमार र जयरामले समान ६ अन्डर ६२ को स्कोर कार्ड बटुल्दै संयुक्त रूपमा अग्रता लिएका हुन्।

कुमारले दुवै हाफमा तीन अन्डर ३१ मा खेलेका थिए। बर्डीबाट दिनको सुरुआत गरेका कुमारले चौथो, पाँचौं, दशौं, ११औं र १२औं होलमा पनि त्यसलाई निरन्तरता दिए।

पहिलो दिन उनले बोगी खेप्नु परेन। यता, जयरामले भने इगलबाट दिनको सुरुआत गरेका थिए। त्यसपछि उनले तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे। तर, नवौं होलको सट खेर फालेपछि उनी पहिलो हाफमा तीन अन्डर ३१ मा खुम्चिए।

ब्याक नाइनमा भने जयरामले तीन बर्डी हिर्काए र समान तीन अन्डर ३१ को कार्डमा रहे। सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत काठमाडौं ओपन सोमबारबाट सुरु भएको हो। जहाँ भुवनकुमार रोक्का र नेपाल नम्बर एक प्रो.गल्फर भुवन नगरकोटी संयुक्त रूपमा तेस्रो स्थानबाट पछ्याइरहेका छन्। दुवैले पहिलो पाँच ६३ को स्कोर कार्ड बटुले।

रोक्काले तीन बर्डीका साथ पहिलो नाइनमा तीन अन्डर ३१ को कार्ड बनाए। त्यस क्रममा उनले पहिलो, चौथो र पाँचौं होलमा बर्डी हिर्काए। ब्याक नाइनमा भने रोक्का दुई अन्डर ३२ मा खुम्चिए।

त्यस क्रममा उनले १०औं, १२औं र १८औं होलमा बर्डी हिर्काए। त्यसअघि १४औं होलमा भने उनले बोगी खेप्नुपरेको थियो।

रवि खड्का पाँचौं स्थानमा रहँदा चार अन्डर ६४ को स्कोर कार्ड जोडेका छन्। त्यस्तै सञ्जय लामा र धनबहादुर थापा संयुक्त छैटौं स्थानमा छन्। दुवैले पहिलो दिन एक अन्डर ६७ को कार्डमा खेले। त्यसै गरी तीन प्रो. गल्फर कृष्णमान राजवाहक,दिनेश प्रजापति र रमेश अधिकारी आठौं स्थानमा छन्। शीर्ष एमेच्योर गल्फर  सुवास तामाङले इभन पार–६८ मा खेल्दै उनीहरूलाई पछ्याए।

१३औं सागका स्वर्ण विजेता सुवासले दुवै नाइनमा इभन पार ३४ को कार्डमा रहे। चौथो होलमा बर्डी प्रहार गरेका सुवासले लगत्तै अर्को होलको सट भने खेर फाले। उनले ब्याक नाइनको ११औं र १२औं होलमा बर्डी हिर्काए तर त्यसबीच उनले १०औं र १६औं होलमा बोगी खेपेका थिए।

भीमसेन चौलागाईंले एक ओभर ६९ को खराब प्रदर्शन गर्दा प्रदीपकुमार लामा, विनोद तामाङ, नीरज तामाङ र सूर्यप्रसाद शर्माको प्रदर्शन पनि खराब नै रह्यो। यी तीनैले दुई ओभर ७० को स्कोर कार्डमा खेले। मेजर निश्चयजंग रायमाझी एमेच्योरतर्फ  दोस्रो स्थानमा छन्।

उनले चार ओभर ७२ स्कोर बटुल्दा तेस्रो स्थानको सुरेश तामाङले ७३ स्कोर जोडे। प्रतियोगितामा ४० प्रोफेसनल गल्फर र १५ एमेच्योर गल्फरले चुनौती प्रस्तुत गरिरहेका छन्। दोस्रो राउन्डबाट शीर्ष २१ प्रो र कम्तीमा ६ एमेच्योर गल्फरले अन्तिम दुई चरणमा स्थान बनाउनेछन्।

 कुल ६ लाख ४० हजार नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले एक लाख १० हजार, उपविजेताले ७४ हजार र तेस्रोले ६० हजार रूपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: २१ मंसिर २०७८ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App