१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

न्यु क्यासलको जितलक्ष्य अधुरो

नर्विच सिटीका टिमु पुक्कीले बराबरी गोल फर्काएपछि न्यु क्यासल युनाइटेडले नयाँ सिजनको प्रिमियर लिगमा पहिलो जित निकाल्ने लक्ष्य मंगलबार पनि अधुरै रहेको दिन लिड्स युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई१–० ले स्तब्ध बनाएको छ।

नवौं मिनेटमा नै १० खेलाडीमा सीमित भएको न्यु क्यासलले दोस्रो हाफमा अग्रता लिए पनि जोगाउन नसक्दा सिजनको पहिलो जित निकाल्ने लक्ष्यमा ठेस लागेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा घरेलु टोलीले ६१औं मिनेटमा पेनाल्टीबाट अग्रताको मौका पायो।

१० खेलाडीमा सीमित भएको न्यु क्यासलका लागि कालुम विलसनले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर अग्रता धेरै समय टिकेन। १८ मिनेटपछि टिमु पुक्कीले बराबरी गोल फर्काउँदै टोलीको हारलाई जोगाउँदा न्यु क्यासलको सुखद जित निकाल्ने लक्ष्य अधुरै रहेको हो।

१४औं खेलसम्म जितविहीन न्यु क्यासलले ७ खेलमा बराबरी खेल्दा ७ खेलमा अंक सुम्पिएको छ। उता अंक खोसेको नर्विच सिटीले जारी सिजनको लिगमा दुई जित निकाल्दा चार खेलमा बराबरी र ८ खेलमा नतिजा सुम्पिएको छ। न्यु क्यासल ७ अंकका साथ तालिकाको पुछारमा छ भने नर्विच सिटी १० अंकका साथ पुछारबाट तालिकाको तेस्रो स्थानमा छ।

प्रिमियर लिगअन्तर्गत मंगलबारकै अर्को खेलमा लिड्स युनाइटेडले क्रिस्टल प्यालेसमाथि १–० को संघर्षपूर्ण जित निकाल्न सफल भयो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा पनि प्रतिस्पर्धात्मक बनेको खेलमा लिड्सले इन्जुरी समयमा गोल गर्दै संघर्षपूर्ण जित निकालेको हो।

लिड्सले जारी सिजनको लिगमा तेस्रो जित निकालेको छ। १४ खेलबाट १५ अंक जोडेको लिड्स तालिकाको १५औं स्थानमा छ भने अंक गुमाएको क्रिस्टल प्यालेस १२औं स्थानमा छ। समान १४ खेलबाट १६ अंक जोडेको क्रिस्टलले सात खेलमा बराबरी र ४ खेलमा अंक सुम्पिएको छ।

प्रिमियर लिगमा १३ खेल खेलेको चेल्सी ३० अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान १३ खेल खेलेको म्यानचेस्टर सिटी २९ अंकका साथ दोस्रो, २८ अंक जोडेको लिभरपुल तेस्रो, २३ अंक जोडेको वेस्ट ह्याम युनाइटेड चौथो तथा समान २३ अंक नै बनाएको आर्सनल गोलअन्तरका आधारमा पाँचौं स्थानमा छन्। 

प्रकाशित: १६ मंसिर २०७८ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App