२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यु–१९ क्रिकेटः लुम्बिनी फाइनल पुग्ने पहिलो टोली

प्रदेश–२ माथि ९ विकेटको सानदार जित निकाल्दै लुम्बिनी प्रदेश बुधबार राजधानीमा जारी वाई–वाई यु–१९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले प्रदेश–२ लाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। राउन्ड रोविन ढाँचामा खेलाइएको खेलमा लुम्बिनी अन्तिम दुईमा प्रवेश गर्ने पहिलो टोली बन्दा दोस्रो टोलीको टुङ्गो लाग्ने समीकरण रोमाञ्चक बनेको छ। ६ मध्ये ५ खेल जित्दै लुम्बिनीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्दा दोस्रो टोलीका लागि ५ टोलीको सम्भावना कायमै छ।

सुदूरपश्चिम प्रदेश (६ अंक), प्रदेश– १ (६), बाग्मती प्रदेश (४), गण्डकी प्रदेश (४) र प्रदेश– २ (४) को फाइनल सम्भावना अझै बाँकी छ। यी सबै टोलीको केवल एक खेल बाँकी छ। यस्तै ५ मध्ये ४ खेलमा पराजय भोगेको कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रदेश–२ ले दिएको १ सय ६९ रनको लक्ष्य लुम्बिनीले बुधबार २६ दशमलव ५ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्दा टोली अन्तिम दुईमा अटाउन सफल भएको हो। प्रदेश–२ विरुद्ध आकाश त्रिपाठी ५७ रनमा पवेलियन फर्किंदा देव खनाल ६२ तथा प्रज्वल थापा १३ रनमा अविजित रहे।

लुम्बिनीको एक मात्र विकेट प्रदेश–२ का सन्तोष कार्कीले लिए। यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको प्रदेश–२ ले ३९.५ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६८ रन जोड्न सफल भएको थियो। प्रदेश–२ का लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन जोडे पनि टोलीको जितका लागि पर्याप्त भएन।

९२ बलको सामना गरेका सन्तोषले ७ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै गुल्सन झा ३२ तथा आदिल अन्सारी २२ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

प्रदेश–२ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका वासिर अहमदले सर्वाधिक ५ विकेट निकाल्दा विशालविक्रम केसीले ३ तथा राहुल चौधरीले २ विकेट लिए।  

लुम्बिनीले ६ मध्ये ५ खेलमा जित निकाल्दा पराजित प्रदेश–२ ले जारी प्रतियोगितामा तेस्रो पराजय भोगेको छ। दुई खेल जितेको प्रदेश–२ को फाइनल पुग्ने सम्भावना भने अझै कायमै छ। प्रदेश–२ ले अन्तिम खेल बिहीबार कर्णाली प्रदेशविरुद्ध खेल्नेछ।  

यु–१९ क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारकै अर्को खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावनालाई कायमै राखेको छ। मूलपानी मैदानमा भएको खेलमा ९१ रन पछ्याएको सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउँदै सो लक्ष्य पूरा गर्दा फाइनल प्रवेश गर्ने सम्भावनालाई जीवन्त राखेको हो।

सुदूरपश्चिमको जितमा वसन्त कार्कीले सर्वाधिक ३७ रनको पारी खेल्दा अर्जुन साउदले अविजित ३२ रनको योगदान गरे। यस्तै दीपक टमाटाले १० रन बनाए। बलिङतर्फ प्रदेश–१ का अभिनय राजवंशीले सर्वाधिक २ विकेट लिँदा श्रवन किस्कु र अंकित सुवेदीको नाममा एक/एक विकेट रह्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २४ ओभरमा सबै विकेट गुमाएर मात्र ९० रनको सामान्य योगफल तयार गरेको थियो। प्रदेश–१ का कप्तान अंकित सुवेदीले सर्वाधिक ६१ रनको योगदान गरे पनि अन्य खेलाडी दोहोरो अंकको स्कोर गर्न असफल रहे।

प्रदेश–१ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पार्दा नरेन्द्र साउदले ३ तथा कैलाश ऐरीले २ विकेट लिए।

यस जितसँगै सुदूरपश्चिमले पाँचमध्ये तीन खेलमा सुखद नतिजा निकालेको छ। सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अन्तिम खेल बाग्मती प्रदेशविरुद्ध शुक्रबार खेल्नेछ।

यता प्रदेश–१ ले पनि पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना कायमै राखेको छ। प्रदेश–१ ले आफ्नो अन्तिम खेल गण्डकी प्रदेशविरुद्ध बिहीबार खेल्नेछ। 

प्रकाशित: १६ मंसिर २०७८ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App