coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मलेसियामाथि सहज जित

सीता रानामगरको अलराउन्ड प्रदर्शनमा नेपालले शुक्रबार मलेसियामाथि जित निकाल्दै आइसिसी महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा तेस्रो सफलतासँगै ग्लोबल छनोटको सम्भावना बलियो बनाएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आफ्नो चौथो खेलमा मलेसियामाथि ६ विकेटको जित निकाल्दै नेपालले ग्लोबल छनोटको सम्भावना बलियो बनाएको हो। शुक्रबार सबै टोलीको चौथो खेल सम्पन्न हुँदा नेपालसहित युएई र हङकङको मात्र ग्लोबल छनोटको सम्भावना बाँकी छ।

चार खेलमा अपराजित युएई आठ अंकसहित शीर्षमा रहँदा चार नै खेल खेलेका नेपाल र हङकङ समान ६ अंकसहित नेट रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्। नेपालले हङकङसँग र हङकङले युएईसँग हार बेहोरेका थिए।

आइतबार नेपालले आफ्नो अन्तिम तथा निर्णायक खेलमा युएईसँग खेल्दै छ। यो नतिजाले नै नेपालको आगामी चरणको यात्रा तय हुनेछ। सोही दिन हङकङले पनि छनोटकै सबैभन्दा कमजोर टोली कुवेतविरुद्ध चुनौती प्रस्तुत गर्नेछ।

शुक्रबार हङकङले भुटानलाई २० रनले र युएईले कुवेतलाई ७ विकेटले हराउँदै ग्लोबल छनोटका लागि बलियो दाबेदारी प्रस्तुत गरेका हुन्। नेपालले भने मलेसियामाथि जित निकाल्दा सीता रानामगरले अलराउन्ड प्रदर्शन गरिन्। ९३ रनको लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गरेपछि मलेसियाले छनोटमा चौथो हारको सामना गर्‍यो।

नेपालको जितमा सीताले सर्वाधिक ३० रन बनाइन्। उनी रनआउट हुँदा नेपालको तेस्रो विकेट पतन भएको थियो। उनले ३८ बलमा तीन चौका हिर्काइन्। नेपालले चौथो ओभरको दोस्रो बलमा नै ओपनर इन्दु बर्मालाई गुमायो। उनी ४ रनमै आइसा इलिसाद्वारा आउट भइन्।

त्यसपछि सीताले कप्तान रुविना क्षत्रीसँग ४८ रनको साझेदारी गरिन्। तर, रुविना २० रनमै रनआउट हुन पुगिन्। कविता कुँवर १६ रन बनाएर आउट हुँदा सरिता मगर १५ रनमा नटआउट रहिन्। नेपालले तीनवटा विकेट रनआउटकै रूपमा गुमायो। मलेसियाका सबै बलरले किफायती बलिङ गरे।

तीन ओभर बलिङ गरेकी इलिसाले एक विकेट लिँदा १४ रन मात्र खर्चिन्। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनको मध्यम योगफल बनायो। मलेसियाका लागि इल्सा हन्टरले नटआउट ३९ रनको इनिङ खेलिन्। ४८ बल खेलेकी हन्टरले चार चौका हिर्काइन्।

मलेसियाले पहिलो ओभरमा खाता नखोल्दै ओपनर विनिफ्रेड दुरैसिंगमालाई गुमायो। लगत्तै अर्को ओभरमा अर्की ओपनर वान जुलिया १ रनमै आउट भइन्। १.६ ओभरमा मलेसियाको दुई विकेट पतन हुँदा नेपालले राम्रो सुरुआत पायो। त्यसपछि हन्टरले युस्रिना याकोप र मास इलिसासँग सानो सानो साझेदारी गर्दै मलेसियाको इनिङ उकासिन्।

याकोपले १२ रन र मासले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालको बलिङमा सबनम राईले सर्वाधिक दुई विकेट लिइन्। चार ओभर बलिङ गरेकी सबनमले एक मेडन राख्दै २७ रन खर्चिन्। सीता रानामगर, रुविना क्षत्री र कविता कुँवरले समान १/१ विकेट लिए।  

प्रकाशित: ११ मंसिर २०७८ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App