५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एसियन गेम्सको तयारी थाल्न निर्देशन

नवनियुक्त खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई पुष्पगुच्छाले स्वागत गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ (बायाँ) । तस्बिरः एनओसी

सन् २०२२ मा चीनको ग्वान्झाउमा आयोजना हुने १९औं एसियन गेम्सको तयारी थाल्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले निर्देशन दिएका छन्।

नेपाल ओलम्पिक कमिटीले मन्त्रीको स्वागत तथा एसियन गेम्सको तयारीका सम्बन्धमा बिहीबार गरेको छलफलमा मन्त्री गहतराजले पदक जित्ने गरी तयारी थाल्न सबै संघलाई निर्देशन दिएका हुन्।

ओलम्पिक कमिटीको आयोजनामा भएको कार्यक्रममा २० वटा खेल संघका पदाधिकारीले एसियन गेम्समा सहभागिताका बारेमा अन्तरक्रिया गरेका थिए। जसमा विभिन्न संघका पदाधिकारीले अभ्यास थालनीको वातावरण मिलाइदिन भन्दै नवनियुक्त युवा तथा खेलकुदमन्त्रीसमक्ष आग्रह गरेका हुन्।

नजिकिँदै गरेको क्यालेन्डरमा एसियन गेम्स रहेको र कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नुपर्ने भएकाले तयारी अविलम्ब सुरु गर्न ओलम्पियन दीपक विष्टले आग्रह गरे।

यस्तै स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए। नयाँ ऐन र परिवेशलाई समन्वय गर्दै बजेट विनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने भन्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले युवा तथा खेलकुदमन्त्रीलाई खेलकुदका तीन निकाय संघ, ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई समन्वय गर्न आग्रह गरे।

ओलम्पिक कमिटीमा भएको कार्यक्रममा मन्त्री गहतराजलाई स्वागत गरिएको थियो। त्यसपछि एसियन गेम्सको औचित्यका बारेमा छलफल भएको थियो।

छलफलमा विभिन्न संघका पदाधिकारीले अभ्यास थालनीको माग गरेका थिए। मन्त्री गहतराजले खेलकुदको बजेट थोरै भएको भन्दै बढाउनका लागि पहल गर्ने बताए। ‘बजेट एकदमै कम रहेछ, यसलाई बढाउनका लागि अर्थमन्त्री र मन्त्रिपरिषद्मा छलफल गर्छु। आशा गरौं, केही सकारात्मक नतिजा आउँछ,’ मन्त्री गहतराजले भने। 

२०१८ को एसियन गेम्स इन्डोनेसियामा भएको थियो भने उक्त प्रतियोगितामा नेपालले पाराग्लाइडिङतर्फ ऐतिहासिक रजत पदक जितेको थियो। यस्तै अन्य विधाका खेलमा भने नेपाल सहभागितामा सीमित भएको थियो। 

प्रकाशित: २६ कार्तिक २०७८ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App