धादिङ जिल्ला टि २० क्रिकेट प्रतियोगिताको उपाधिको लागि त्रिपुरासुन्दरी र गजुरी धादिङ युवा क्लब भिड्ने भएका छन्। बुधबार चन्द्रोदय बहुमुखी क्याम्पसको मैदानमा भएको सेमिफाइनलमा गजुरी सामुदायिक विकास समाजले चरौदी समाज सुधार युवा क्लबलाई १ सय १९ रन र दोस्रो सेमिफाइनलमा त्रिपुरासुन्दरीले संवाहकलाई ६८ रनले हराउँदै फाइनलमा पुगेका हुन्।
चन्द्रोदय खेल मैदानमा टस जितेर ब्याटिङका थालेको गजुरीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। गजुरीका शीर्षक्रमका ब्याटर उज्वल थापाले ४० बलमा ८ चौका र ९ छक्का सहित १ सय रनको अविजित शतकीय इनिङ खेले। चरौदीका एन्जल सिलवालले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिएका थिए। २ सय रनको विशाल विजयी लक्ष्य पछ्याएको चरौदी २० ओभरमा ८० रनमा अल आउट भयो। चरौदीका चन्द्रेश ठाकुरले सर्वाधिक ३२ रन बनाए। गजुरीका निरोज रिजालले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएपछि चदौरी ब्याटिङ ध्वस्त बनेको थियो।सन्देश सापकोटा र प्रदीप गिरीले सम्मान २–२ विकेट लिए।
त्यस्तै अर्को सेमिफाइनलमा टस जितेर ब्याटिङ रोजेका त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। त्रिपुरासुन्दरीका कप्तान अमृत थापाले ४४ बलमा १२ चौका र ३ छक्का सहित ८५ रनको उत्कृष्ट इनिङ खेले। संवाहकका लागि राज कुमार , सुदीप पाठक, अमृत थापा र नवराजले सम्मान १/१ विकेट लिए। जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको संवाहक १७.४ बलमा १ सय ६ रनमै अल आउट भएको थियो। संवाहकका लागि सुदीप पाठकले सर्वाधिक १४ रन बनाए। अन्य ब्याटरको प्रदर्शन सम्झन लायक रहेन।
सन्दीपबाहेक अन्य कुनैपनि ब्याटरले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन्। त्रिपुरासुन्दरीका श्री कृष्णले सर्वाधिक ३ विकेट लिए। अनिल अधिकारी र उदय थापाले २/२ विकेट लिए। फाइनल बिहीबार हुनेछ।
प्रकाशित: १७ कार्तिक २०७८ १५:११ बुधबार