५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सोमबार बेलबारीको लक्ष्मीमार्गमा भएको खेलमा हिमालयनले झापा धुलाबारीको रोलिङ क्लबलाई ३–१ गोल अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो। मध्यान्तरअघि दुवै टोली निकै प्रतिष्पर्धात्म खेल पनि हिमालयन १ गोलले अग्रता लिएको थियो।

मध्यान्तरपछि हिमालयनले झापालाई दबाबमा राखेर खेल्दै थप २ गोल गर्‍यो भने एक मात्र सन्तवना गोल झापाले फर्काउन सक्यो। हिमालयनले पाएको गोलका राम्रो अवसरलाई सदुपयोग गर्न सफल भयो। झापाले पाएको केही राम्रो अवसरमा गरिएको प्रहार पोलमा लाग्दै बाहिरियो र केही प्रहारलाई गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्।

खेलको १६औं मिनेटमा हिमालयनका पिस्टन मुतुम्बाले गोल गरे। विश्वास श्रेष्ठले प्रहार गरेको बल झापाका गोलरक्षक मनोज प्रधानले पञ्च गर्दै बचाउ गरेको बल डिबक्सभित्रै झरेपछि मुतुम्बाले गोल गरेका हुन्। ५०औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै गोल संख्या दोब्बर पारे। जापानी खेलाडी रियो नाकामुराले प्रहार गरेको बल रिवाउन्ड भएर मैदानमा झर्न नपाउँदै श्रेष्ठले सिधा प्रहार गर्दै गोल गरे। लगत्तै २ मिनेटपछि विसोन गुरुङले गोल थप्दै ३ गोलको अग्रता दिलाए।

५७औं मिनेटमा झापाका ड्याडी वाम्बाले गोल गरे। झापाका बबिन बोहोरालाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमार्फत वाम्बाले गोल गरे। म्यान अफ द म्याच हिमालयन शेर्पाका त्रिदेव गुरुङले नगद ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे। उनलाई सुन्दरहरैँचा नगर प्रमुख शिवप्रसाद ढकालले पुरस्कार प्रदान गरे। मंगलबार अन्तिम सेमिफाइनल खेल धनकुटा राजारानीको रारा फुटबल क्लब र काठमाडौंको सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच हुनेछ।

प्रकाशित: १६ कार्तिक २०७८ ०४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App