२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

चेल्सीको जितमा गोलकिपर नायक

पेनाल्टी सुटआउटमा चेल्सीले साउथह्याम्पटनविरुद्ध जित निकाल्दै लिग कपको क्वार्टरफाइनलमा स्थान बनाउँदा मंगलबारै आर्सनलले लिड्स युनाइटेडमाथि २–० को नतिजाका साथ अन्तिम आठमा प्रवेश गरेको छ।

चेल्सी र साउथह्याम्पटनबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटतर्फको प्रतिस्पर्धाबाट चेल्सी ४–३ ले विजयी भएको हो। चेल्सीलाई अघिल्लो चरणमा पुर्‍याउने क्रममा गोलकिपर केपा अरिजाबालागा नायक बने।

उनी साउथह्याम्पटनले प्रहार गरेका पाँचमध्ये दुई पेनाल्टी रोक्न सफल भए। चेल्सीका मार्काेस अलन्सो, कैलम हड्सन ओडोई, बेन चिलवाल र जेम्स रिसले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दा मेसन माउन्ट गोल गर्न चुके। यस्तै साउथह्याम्पटनका एडम आम्सट्रङ, शेन लङ र ओरिओल रोमेउले पेनाल्टी प्रहारलाई गोलको दिशा दिँदा थियो वालकोट र स्मलबोनले गोल गर्न सकेनन्। 

त्यसअघि चेल्सीको घरेलु मैदान स्टामफोर्डब्रिजमा पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा लिएको अग्रता दोस्रो हाफको दोस्रो मिनेटमा नै तोडिएको थियो। त्यसपछि दुवै टोली स्पष्ट जितका लागि प्रयास गरे पनि सफल हुन सकेनन्।

त्यसपछि थपिएको अतिरिक्त समयमा पनि थप गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटतर्फ लम्किएको थियो। यसअघि काई हाभर्ट्जको गोलबाट चेल्सीले अग्रता लिएको थियो। ४७औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई खेलमा फर्काएका थिए।

लिग कपअन्तर्गत मंगलबारकै अर्को खेलमा आर्सनलले लिड्स युनाइटेडलाई स्तब्ध बनाउँदै अन्तिम आठमा स्थान बनाएको हो। आर्सनलको घरेलु मैदानमा भएको खेलमा स्पष्ट जित दिलाउने क्रममा कलुम चाम्बर्स र एडी एनकेटियाले एक/एक गोल गरे।

इमिरेट्स स्टेडियममा पहिलो हाफ गोलरहित बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा गोल गरेको थियो। ५५औं मिनेटमा चाम्बर्सले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए। ६९औं मिनेटमा एनकेटियाले गोल थप्दै आर्सनललाई २–० को जित सुनिश्चित गरेका थिए। लिग कपकै अर्को खेलमा सन्डरल्यान्डले क्विन्स पार्क रेन्जर्स (क्युपिआर) लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको छ।

निर्धारित र थप गरिएको समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। पेनाल्टीमा सन्डरल्यान्डका आइडेन म्याक गेडे, रोस स्टेवार्ट र एलेक्स प्रिटचार्टले गोल गरे। क्युपिआरका लेन्डन डेकेसले गोल गर्दा चार्ली अस्टिन, इलियस चेयर र योएन बार्वेट गोल गर्न चुके।

प्रकाशित: ११ कार्तिक २०७८ ०३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App