१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि पूर्वाधार र सामानलाई बजेट

दुई वर्षअघिदेखि नै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा सुरु भएको थियो। खेलाडीलाई कोरोनाविरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ। खोपको पहुँचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा सुरु भएको हो।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पूर्वाधार र आवश्यक खेलसामग्रीका लागि बजेट छुट्ट्याइसकेको छ। पूर्वाधारका लागि दुई करोड रूपैयाँ छ। संघहरूलाई आवश्यक सामग्री उपलब्ध गराउन मन्त्रालयले ५० लाख रूपैयाँ राखेको गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङले बताए। ‘पूर्वाधारका लागि २ करोड रूपैयाँ छ,’ उनले भने,‘नवौं राष्ट्रिय खेलकुदको मिति तय भएपछि संघहरूलाई सामान खरिद गरेर उपलब्ध गराउँछौं।’ उनका अनुसार मिति तय नहुदाँसम्म संघहरूलाई सामान उपलब्ध गराउन बजेट निकासा हुने अवस्था छैन। ‘मिति तय भएपछि संघबाट प्राप्त निवेदनअनुसार आवश्यक सामान खरिद गरेर मन्त्रालयले उपलब्ध गराउँछ,’ उनले भने।

केही संघले आवश्यक सामानको सूचीसहित मन्त्रालयमा निवेदन पेस गरिसकेको उनले जानकारी दिए। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ३६ वटा खेल समावेश हुनेछन्। मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ। संघहरूलाई आवश्यक सामग्रीसहित प्रशिक्षकसमेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्रदेश खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरे। ‘अहिलेदेखि नै तयारी गरिएन भने अपेक्षाअनुसारको रिजल्ट आउन सक्दैन,’ उनले भने, ‘त्यसैले पनि पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई फोकस गर्नुको विकल्प छैन।’ बास्केटबल संघ कास्कीका अध्यक्षसमेत रहेको गुरुङले बास्केटबल कोर्ट मर्मतका लागि मन्त्रालयले ५ लाख रूपैयाँ छुट्ट्याएको जानकारी दिए।

कोरोनाको दोहोरो खोपपछि मात्रै मार्सल आर्ट्सतर्फ समूहगत प्रशिक्षण गराइने कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बताए। ‘व्यक्तिगत प्रशिक्षण भइरहेको छ। तर समूहगत प्रशिक्षण भएको छैन,’ उनले भने, ‘समूहगत प्रशिक्षण तिहारपछि मात्रै गराउने योजनामा छौं।’ अध्यक्ष गुरुङले तेक्वान्दो संघले आवश्यक सामानका लागि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयसँग प्रस्ताव पेस नगरिएको बताए।

अध्यक्ष गुरुङले प्रशिक्षकसमेत आवश्यक भएको औंल्याए। अन्तर्राष्ट्रिय नियममा भएको परिवर्तनले प्रविधिमा अपटेड भएका प्रशिक्षकको खाँचो रहेको उल्लेख गरे। ‘हामीसँग प्रशिक्षक छन्। प्रशिक्षकहरू अब प्रविधिमैत्री हुनुपर्छ। एडभान्स ट्रेनिङ दिने प्रशिक्षक चाहिन्छ,’ उनले भने, ‘भइरहेका प्रशिक्षक पनि अपटेड बन्नुपर्छ।’ 

कतिपय खेलका आवश्यक पूर्वाधार तयार भए पनि पूर्ण रूपमा प्रयोगमा आउन सकेको छैन। कास्की जिल्ला ह्यान्डबल संघले आउटडोर कोर्ट बनाएको छ। आउटडोर कोर्टका लागि अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघको सहयोगको आउटडोर ह्यान्डबल म्याट सहयोगस्वरूप दिएको छ। ‘आउटडोर म्याट फ्रान्सबाट आउँदै छ। हामीले आउटडोर म्याटका लागि लकडाउनअघि नै प्रक्रिया गरेका थियौं। अबको केही समयपछि आइपुग्छ।’ कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष चित्र थापाले भने, ‘म्याट आएपछि महिला र पुरुष ह्यान्डबल प्रतियोगिता आयोजना गर्न सहज हुनेछ।’

दुई वर्षअघि १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ८ खेल पोखरामा आयोजना भएको थियो। सागकै कारण ह्यान्डबल, भारोत्तोलन, ब्याडमिन्टन, बिच भलिबल, ट्रायथोलन, महिला क्रिकेटलगायतका खेलका आवश्यक सामान आएका थिए। सागमै सामान आएकै कारण संघहरूलाई सामानको आवश्यकता भने कमै मात्रै परेको छ। 

प्रकाशित: ४ कार्तिक २०७८ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App