८ वैशाख २०८१ शनिबार
खेल

लाकाजेटले जोगाए आर्सनललाई

आर्सनलका एलेक्जान्डर लाकाजेटले अन्तिम समयमा गोल फर्काएपछि प्रशिक्षक प्याट्रिक भिएराको क्रिस्टल प्यालेसमा सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

सोमबार राति भएको खेलमा लाकाजेटले ९६औं मिनेटमा गोल गर्दै आर्सनललाई हारबाट जोगाएका थिए। उनकै गोल प्रेरणाबाट आर्सनलले क्रिस्टल प्यालेससँग २–२ को नतिजा निकाल्दा प्याट्रिकको खेलाडीजीवनको पूर्वक्लबविरुद्ध सुखद सुरुआत गर्ने लक्ष्यले पूर्णता पाउन सकेन। 

खेलको सुरुआतमै गोलका बावजुद आर्सनल हारको सँघारमा पुगेको थियो। तर, लाकाजेटले अन्तिम समयमा गोल फर्काउँदै एक अंक दिलाए। पिएरे इमेरिक औबामेयाङले खेलको सातौं मिनेटमा गोल गर्दै आर्सनलाई सुरुआती अग्रता दिलाएका थिए। तर, घरेलु मैदानमा आर्सनल दोस्रो हाफमा भने समालिन सकेन। पछिल्ला पाँच खेलमा अपराजित आर्सनल दोस्रो हाफमा लगातार दुई गोल बेहोरेपछि हारको संघारमा पुग्यो।

क्रिस्टिन बेन्टेके र ओडसोने इडवार्डले दुई गोल गर्दै पाहुना टोली प्यालेसलाई २–१ को अग्रता दिलाए। यद्यपि, भिएराको टोली प्यालेस अन्तिम समयमा भने समालिन सकेन र कर्नर पासमा लाकाजेटले गोल फर्काउँदै प्यालेसबाट एक अंक फुत्काए। ‘हामी जितनजिक पुगेका थियौं। तर, अन्तिममा चुक्यौं,’ प्यालेसका प्रशिक्षक भिएराले भने, ‘दोस्रो हाफमा हामी खेलमा फर्कन सफल भयौं। तर, नतिजा बाँड्नुपर्दा निकै दुःखी छु। हामी जितका हकदार पनि थियौं।’ 

क्रिस्टल प्यालेसले प्रिमियर लिगका पछिल्ला आठमध्ये पाँच खेलमा बराबरीको नतिजा सामना गरेको छ। यता, एक अंक प्राप्त गरेपछि आर्सनल अंकतालिकाको १२औं स्थानमा पुगेको छ।

तर, यस किसिमको प्रदर्शनले आर्सनललाई सिजनको अन्त्यमा आगामी सिजनको च्याम्पियन्स लिगमा छनोटको दाबेदारीबाट टाढा पुर्‍याउन  पनि सक्दछ। यद्यपि, औबामेयाङले कयौं गोलको अवसर सिर्जना गर्दै आर्सनललाई राम्रो सुरुआतको संकेत पनि गरेका थिए। 

यता, प्यालेसले विल्फ्रेड जाहाबिना पनि आर्सनलमाथि चुनौती प्रस्तुत गर्न सफल भयो। ‘हामीले पहिलो गोल गरेपछि टोलीलाई थप व्यवस्थित गर्न सकेनौं,’ आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘हामीले खेललाई नियन्त्रणमा राख्न सकेनौं। यो नतिजाले निकै दुखी छु। तथापि, सुखद पक्ष भनेको हामीले अंक प्राप्त गर्‍यौं। त्यस अंकका लागि खेलाडीहरू अन्तिमसम्म पनि लडे।’

प्यालेसका प्रशिक्षक भिएराले तीन पटकसम्म आफ्नो कप्तानीमा आर्सनललाई प्रिमियर लिगको उपाधि दिलाएका थिए। यस पटक भने उनी फरक भूमिकामा पूर्वक्लबविरुद्ध उत्रिए। उनले आर्सनलसँगको खेललाई यादगार बनाउन पनि सकेनन्। प्यालेसले आगामी अवे खेलअन्तर्गत चेल्सी र लिभरपुलसँग खेल्नेछ र यी टोलीविरुद्ध जित निकाल्न निकै कठिन हुनेछ। 

प्रकाशित: ३ कार्तिक २०७८ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App