coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

श्रीलंकाविरुद्ध रोमाञ्चक जित

श्रीलंकामाथि रोमाञ्चक जितका साथ नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा जित यात्रालाई दोस्रो खेलसम्म निरन्तरता दिएको छ ।

सोमबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित गरेको हो। श्रीलंकासँग साफ च्याम्पियनसिपमा भएको ६ भिडन्तमा नेपालले जित हातपारेको यो मात्र दोस्रो पटक हो। ६ मध्ये एक खेल बराबरीमा रोकिएको थियो भने दुई खेल नेपालले जितेको थियो। तीन खेलको नतिजा श्रीलंकाको  पक्षमा थियो।  

नेपालले पछिल्लो पटक साफ च्याम्पियनसिपमा सन् २०१५ मा श्रीलंकाको सामना गरेको थियो, जहाँ नेपाल पराजित भएको थियो। पहिलो खेलमा साबिक विजेता माल्दिभ्सलाई हराएको नेपाल दुई खेलमा ६ अंकका साथशीर्ष स्थानमा छ। 

समान खेलमा एक जित र एक बराबरीको नतिजा ल्याएको बंगलादेश चार अंक बटुल्दै दोस्रो स्थानमा छ। एक खेलमा एक अंक जोडेको भारत तेस्रो स्थानमा छ। दुई खेल गुमाएको श्रीलंका र एक खेल गुमाएको माल्दिभ्स अंकविहीन छन् ।

पाँच टोलीको सहभागिता रहेको प्रतियोगितामा लिग चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन्। लिग चरणको समाप्तिमा शीर्ष स्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधिजित्न सकेको छैन। साफ च्याम्पियनसिपको १३औं संस्करणसम्म आइपुग्दा भारतले सर्वाधिक सात पटक प्रतियोगिताको उपाधि जितेको छ भने माल्दिभ्सले दुई, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान एक पटक उपाधि जितेका छन्। नेपालसँगै पाकिस्तान र भुटानले साफ च्याम्पियनसिपको उपाधि जित्न सकेका छैनन्। अफगानिस्तान हाल साफमा छैन ।

३०औं मिनेटमा सुमन लामाले नेपालको गोल खाता खोलेका थिए। नवयुग श्रेष्ठको क्रसमा सुमनले गरेको प्रहार पोस्टमा लागेर रिबाउन्डमा प्राप्त बललाई सुमनले नै जाली चुमाएका थिए। श्रीलंकाविरुद्धको खेलमा नेपालले सुरुआती ११ मा दुई खेलाडी परिवर्तन गरेको थियो। माल्दिभ्सविरुद्ध पहिलो खेलमा पहिलो रोजाइमा अवसर पाएका सुजल श्रेष्ठ र दिनेश राजवंशीको स्थानमा विशाल राई र सुमन लामाले अवसर पाएका थिए ।

५१औं मिनेटमा अञ्जन विष्टको गोलमा नेपालले अग्रता दोब्बर बनायो। अञ्जन विष्टले आयुष घलानको पासमा गोल गरेका थिए। आयुष ४६औं मिनेटमा विशाल राईको स्थानमा मैदान प्रवेश गरेका थिए। ५७औं मिनेटमा मार्लिन ह्यामिल्टनको गोलमा श्रीलंकाले खेलमा फर्कने संकेत गरेको थियो। ८५औं मिनेटमा आयुषले गोल गर्दै नेपालको अग्रता ३–१ मा पुर्‍याएका थिए। आयुषले तेज तामाङको पासको सदुपयोग गरेका थिए ।

इन्जुरी समयमा डीसिल्भाले पेनाल्टीको सदुपयोग गर्र्दै श्रीलंकालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भएन । लगातार दोस्रो हारपछि श्रीलंकाको भने शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्ने लक्ष्य कठिन मोडमा पुगेको छ। 

यसअघि सोमबार भएको पहिलो खेलमा बंगलादेश र भारतले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए। नेपालले तेस्रो खेलमा असोज २४ गते भारत र चौथो खेलमा असोज २७गते बंगलादेशको सामना गर्नेछ ।

प्रकाशित: १९ आश्विन २०७८ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App