८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

श्रीलंकालाई कमजोर नआँक्ने

कप्तान किरणकुमार लिम्बु (दायाँ) र प्रशिक्षक अब्दुल्लाह अलमुताइरी। तस्बिरः नागरिक

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकाको सामना गर्दा स्पष्ट जित यात्राको निरन्तरता चाहन्छ। शुक्रबारबाट सुरु भएको प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली माल्दिभ्समाथि १–० को जितका साथ सुखद सुरुआत गरेको थियो।

साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई हराएको यो नै पहिलो पटक थियो। प्रतियोगिताकै दाबेदार टोली माल्दिभ्समाथिको जितपछि हौसिएको नेपालको लक्ष्य श्रीलंकाविरुद्ध पनि स्पष्ट ३ अंक जोड्ने रहेको छ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माल्दिभ्समाथिको जितले श्रीलंकाविरुद्धको खेलमा अर्थ नराख्ने बताए।

‘श्रीलंका कठिन टोली हो तर हामी जितयात्रा निरन्तर हुनेमा विश्वस्त छाैँ,’ अल्मुताइरीले भने, ‘हामीले श्रीलंका र बंगलादेशबीचको खेल हेरेका थियाैँ। श्रीलंकाले आक्रामक खेलेको थियो। हामी श्रीलंकामाथि फराकिलो गोलअन्तरका लागि भन्दा पनि पूरा ३ अंकका लागि खेल्छौं।’

साफ च्याम्पियसिपमा नेपाल र श्रीलंका ५ पटक आमनेसामने भएका छन्। जहाँ तीन खेल श्रीलंकाले आफ्नो पक्षमा पारेको छ भने एक खेल नेपालले जितेको छ। एक खेल भने बराबरीमा सकिएको छ। पछिल्लो पटक नेपाल र श्रीलंका साफ च्याम्पियनसिपमा सन् २०१६ मा आमनेसामने भएका थिए, जहाँ श्रीलंकाले बाजी मारेको थियो।प्रशिक्षक अल्मुताइरीले श्रीलंका फिफा वरीयतामा नेपालभन्दा तल रहँदैमा उनीहरूलाई कमजोर टोलीका रूमपा नलिने बताए।  

‘समर्थकहरूले हामीबाट धेरै गोल होस् भन्ने अपेक्षा गरेका छन् र यो स्वाभाविक पनि हो,’ अल्मुताइरीले भने, ‘तर हामी धेरै गोल गर्नभन्दा पनि खेल जित्दै स्पष्ट ३ अंक लिन चाहन्छौं। गोलअन्तरमा केन्द्रित हुँदा टोलीले लय गुमाउन सक्छ। फराकिले अन्तरले जिते पनि साघुँरो अन्तरले जिते पनि प्राप्त गर्ने भनेको तीन अंक नै हो। लिग चरणको समाप्तिमा शीर्ष दुई टोलीको टुङ्गो पनि अंकले नै लगाउँछ। त्यसैले हामी धेरै गोल गर्नभन्दा पनि स्वाभाविक प्रदर्शनका साथ जितयात्राको निरन्तरता दिन चाहन्छाैँ।’

कप्तान किरणकुमार लिम्बुले आफूहरू साफ च्याम्पियनसिपको उपाधि सपना साकार पार्न आएकाले श्रीलंकाविरुद्ध जितका साथ थप एक कदम अघि बढ्न चाहेको बताए।

‘श्रीलंका राम्रो टोली हो र उनीहरूविरुद्धको खेल हाम्रा लागि महत्वपूर्ण छ,’ किरणले भने, ‘हामीले माल्दिभ्सविरुद्ध जस्तो प्रदर्शन गर्‍यौं, श्रीलंकाविरुद्ध पनि त्यहीअनुरूप प्रदर्शन गर्दै अन्तिम मिनेटसम्म लड्नेछौं। हाम्रो लक्ष्य जितयाात्राको निरन्तरता हो र हामी त्यसमै केन्द्रित छाैँ।’ उद्घाटन खेलमा बंगलादेशलाई १–० को नतिजा सुम्पिएको श्रीलंका नेपालमाथि जितका साथ अंक खाता खोल्ने लक्ष्यमा हुनेछ।

प्रकाशित: १८ आश्विन २०७८ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App