राष्ट्रिय खेलाडी कल्याणकारी कोषले फुटबलका पूर्वखेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ। न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो। न्यौपानेका बुवा/आमा दुवै क्यान्सर रोगबाट पीडित छन्।
कोषका सदस्यसचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले न्यौपानेलाई ७५ हजार रूपैयाँबराबरको चेक हस्तान्तरण गरे। कोषले समस्यामा परेका खेलाडी तथा उनका परिवारलाई कोषमा सन्चित रकमको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।
२०६५ सालमा कोष स्थापना भए पनि २०६८ मा कार्यविधि बनेपछि मात्र कोषमा १ करोड जम्मा गरिएको थियो। हाल कोषमा १ करोड ४० लाख रूपैयाँ रहेको र त्यसैको ब्याजबाट आर्थिक सहयोग उपलब्ध गराउँदै आएको श्रेष्ठले जानकारी गराए।
विनाशकारी भूकम्प गएको वर्ष २०७२ मा कोषले सबैभन्दा बढी २७ लाख आर्थिक सहयोग वितरण गरेको थियो। त्यस बेला भूकम्पका कारण ज्यान गुमाएका र घर पूर्ण रूपमा क्षति भएका सम्बन्धितलाई आर्थिक सहयोग वितरण गरिएको थियो।
प्रकाशित: १६ आश्विन २०७८ ०२:५१ शनिबार