२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गलकोटलाई दोस्रो सफलता

बागलुङको गलकोट स्पोर्ट्स क्लबले छैटौं राष्ट्रिय एनभिए क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो सफलता निकाल्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भारतीय खेलाडी सम्मिलित प्रदेश–२ माथि सोझो सेटमा जित निकाल्दै समूह ‘ए’ को गलकोटले नकआउट चरणको सम्भावना बलियो बनाएको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदेश–२ ले पहिलो र दोस्रो सेटमा चुनौती दिए पनि गलकोटले २५–२३ र २५–२१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

 तेस्रो सेट भने गलकोटले २५–१८ ले सहजै आफ्नो बनाउँदै प्रदेश–१ माथि सोझो सेटमा सफलता प्राप्त गर्‍यो। यसअघि पहिलो खेलमा बाग्मती प्रदेशलाई हराएको गलकोट दोस्रो सफलतासँगै चार टोली रहेको समूह ‘ए’ को शीर्ष स्थानमा छ।

गलकोटले यस समूहको शीर्ष स्थानका लागि बुधबार डिफेन्डिङ च्याम्पियन हेल्प नेपालविरुद्ध चुनौती प्रस्तुत गर्नेछ। हेल्प नेपालले समूहको आफ्नो पहिलो खेलमा बाग्मती प्रदेशमाथि २५–१६, २५–१३ र २५–१२ को जित निकाल्दै तीन अंक जोडेको छ।

 यता, दुई हारसँगै बाग्मतीको भने नकआउटचरणको सम्भावना समाप्त भएको छ। यस समूहबाट प्रदेश–२ ले दुई खेल खेल्ने बाँकी छ। समूह ‘बी’ को नेपाल पुलिस क्लबले पनि दोस्रो जित निकाल्दा सोमबार मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा नै पराजित गर्‍यो। राष्ट्रिय टोलीका सदस्य रहेको पुलिसले युवा खेलाडीले भरिएको मणिमुकुन्दमाथि २५–१४,२५–१५ र २५–१५ को जित निकाल्यो।  

पुलिसले पहिलो खेलमा दावाँली मिलन क्लबलाई हराएको थियो। दावाँलीले सोमबार नै भारतीय खेलाडी सम्मिलित गण्डकी प्रदेशसँग ३–१ को हार बेहोरेपछि नकआउट चरणको सम्भावना टुङ्ग्यााएको छ। 

गण्डकीले पहिलो सेट २५–१२ ले आफ्नो बनाए पनि त्यसपछिका सेटमा भने दावाँलीले कडा चुनौती दियो। निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट गण्डकीले २५–२२ ले आफ्नो बनाउँदै दावाँलीमाथि दबाब बनाउने प्रयास गर्‍यो। तर, दावाँलीले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गरेको थियो।

तथापि, अन्तिममा तालमेल मिलाउन नसक्दा दावाँलीले चौथो सेट २७–२५ ले गण्डकीलाई सुम्पिँदै दोस्रो हार बेहोर्‍यो। चार टोली रहेको यस समूहमा दुई जितसहित पुलिसले शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।

 एक खेलमा शतप्रतिशत सफलता प्राप्त गरेको गण्डकी र एक खेलमा हार बेहोरेको मणिमुकुन्दको नकआउट चरणको सम्भावना बाँकी नै छ। सोमबारकै अन्य खेलमा समूह ‘सी’ को नयाँ बजार युवा क्लबले कर्णाली प्रदेशलाई २५–१८, २५–१९ र २५–२१ को सेटमा हरायो। तीन टोली रहेको यस समूहमा लगातार दोस्रो हारसँगै कर्णाली समूह चरणबाटै बाहिरियो। कर्णालीले पहिलो खेलमा आर्मीसँग हार बेहोरेको थियो।

सोमबार भएको अन्तिम खेलमा समूह ‘डी’ को ढोरपाटन स्पोर्ट्स क्लबले बुढानीलकण्ठ भलिबल क्लबलाई २५–१९, २५–२३ र २५–२० को सेटमा हराउँदै नकआउट चरणको सम्भावना बलियो बनाएको छ। यस समूहको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बुढानीलकण्ठलाई हराएमा ढोरपाटनले नकआउट चरणको यात्रा तय गर्नेछ। मंगलबार पुरुषतर्पm चार खेल हुनेछन्। महिलातर्फको पनि मंगलबार सुरु हुनेछन्।

आगामी असोज १६ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १४ टोली र महिलामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट ७ र महिलाका ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्। विजेताले ४ लाख, उपविजेताले दुई लाख र तेस्रोले एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले २५ हजार रूपैयाँ प्राप्त गर्दा विधागत उत्कृष्टले १० हजार रूपैयाँ पाउनेछन्।

प्रकाशित: १२ आश्विन २०७८ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App